विश्वकप फुटबल: अन्तिम १६ को समिकरण पूरा

जनसम्मत
मंसिर १७, २०७९, शनिबार

कतारमा जारी २२ औं फिफा विश्वकपको अन्तिम १६ को समिकरण पूरा भएको छ।

शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो।

अब, अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले सेनेगल, अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी, क्रोएसियाले जापान, स्पेनले मोरोक्को, ब्राजिलले दक्षिण कोरिया र पोर्चुगलले स्वीट्जरल्यान्डसँग खेल्नेछ।

नकआउट चरणका खेलहरु शनिबार रातिदेखि सुरु हुनेछन्। आजै (शनिबार) राति ८:४५ बजे नेदरल्यान्ड्स र अमेरिका तथा राति १२:४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।

विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। यस समूहबाट इक्वेडर र आयोजक कतार बाहिरिएको छ। समूह ‘बी’बाट इंग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बनेर अन्तिम १६ मा पुग्दा इरान र वेल्स बाहिरिएको छ।

समूह ‘सी’बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता बन्दै अन्तिम १६ का लागि अगाडि बढ्दा साउदी अरब र मेक्सिको बाहिरिएको छ।

यसैगरी, समूह ‘डी’ बाट साविक विजेता फ्रान्स शीर्षस्थानमा रह्यो। अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ट्युनिसिया र डेनमार्क घर फर्किएको छ। समूह ‘ई’ बाट जापान विजेता र स्पेनले उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउँदा ४ पटकको विजेता जर्मनी र कोस्टारिका समूहचरणबाटै बाहिरिएको छ।

समूह ‘एफ’ बाट मा मोरोक्को विजेता र क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा पुग्दा बेल्जियम र क्यानाडा बाहिरिएको छ।

समूह ‘जी’ बाट विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दा क्यामरुन र सर्बिया बाहिरिएको छ। यस्तै समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउटमा पुग्दा उरुग्वे र घाना घर फर्किएको छ।