एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखे

‘नेभर गिभ अप’ लक्ष्यबाट पछि हट्नु हुँदैन भन्ने सन्देश दिन श्रेष्ठले सगरमाथाको आरोहण गरेका हुन्

जनसम्मत
जेठ ८, २०७६, बुधबार

पोखरा । एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् । उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन् ।

‘नेभर गिभ अप’ लक्ष्यबाट पछि हट्नु हुँदैन भन्ने लक्षसहित गोपाल श्रेष्ठ विश्वभरी रहेका एचआइभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने अभियानमा होमिएका हुन् ।

उनले सगरमाथाको चुचुरोमा सफलतापूर्वक आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

काठमाडौं–लुक्ला–नाम्चे–पाङबोचे–बेसक्याम्प हुँदै गोपाल श्रेष्ठसहित ६ जनाको टोली बुधबार बिहान सगरमाथा पुगेका थिए । उनले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा सगरमाथा आरोहण गरेका हुन् ।

पुर्व राष्ट्रिय फुटवल खेलाडीसमेत रहेका श्रेष्ठलाई २५ बर्ष अघि एचआइभी संक्रमण देखिएको थियो । सन् २०१५ मा पनि सगरमाथा आरोहणका लागि गएका श्रेष्ठ भुकम्पका कारण आधार शिविरबाटै फर्किएका थिए । त्यतिबेला, उनीसँगै गएको आफ्ना सहयात्री ५ जनालाई भने गुमाउनु परेको थियो।

स्टेप अप क्याम्पेन सेकेण्ड फेज अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल श्रेष्ठले यसअघि सन् २०१३ अक्टोबरमा मनाङ र मुस्ताङको बीचमा पर्ने थोराङ् ला पास (५४१६ मि.), २०१४ मा सोलुखुम्बुको आइस ल्याण्ड पिक (६१८९), र २०१६ मा दोलखाको भर्जिन पिक खाङ कार्पो (६६४६ मि.) को आरोहण गरिसकेका छन् ।