विश्वकप फुटबल: अर्जेन्टिना क्वार्टरफाइनल पुग्यो

जनसम्मत
मंसिर १८, २०७९, आइतबार

विश्व फुटबल महारथी अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।

शनिबार राति भएको नकआउट चरणको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराउँदै क्वार्टरफाइनल चरणमा स्थान बनाएको हो।

कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो।

कतारको अहमेद अलि बिन रंगशालामा शनिबार राति भएको खेलमा लियोनल मेसीले ३५ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो। १८ यार्ड बक्सभित्रबाट निकोलस ओटामेन्डीको क्रस बलमा मेसीले उत्कृष्ट फिनिसिङ गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए।

विश्वकपको नकआउट चरणमा मेसीले गरेको यो पहिलो गोल हो। यस्तै, जारी विश्वकपमा मेसीको यो तेस्रो गोल हो।
अस्ट्रेलियाका गोलकिपरको गंभीर गल्तीको फाइदा उठाउँदै ५७ औँ मिनेटमा जुलियन आल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। अस्ट्रेलियन गोलकिपर म्याथ्यु र्‍यानले ६ यार्ड बक्सभित्र नियन्त्रणमा लिन नसकेको बललाई आल्भारेजले सहजै गोल गरे।

खेलको ७७ औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियालाई २–१ को अवस्थामा फर्काएका थिए। १८ यार्ड बक्सबाहिरबाट अस्ट्रेलियाका क्रेग गुडविनले गरेको प्रहार फर्नान्डेजबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो।

यो गोलसँगै विश्वकपमा २२ गोल पुर्‍याएका मेसीले यसअघि म्याराडोनाको नाममा रहेको अर्जेन्टिनाबाट विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए। यसअघि म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाका लागि २१ गोल गरेका थिए।

अर्जेन्टिनाका कप्तान मेसीको आजको खेल फुटबल करियरकै १००० औँ खेल हो। मेसीले अर्जेन्टिनाबाट हालसम्म १६८ खेल खेलेका छन्।

अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउटमा आएको हो। यता, अस्ट्रेलिया भने समूह ’डी’ को उपविजेता बन्दै अन्तिम–१६ मा आएको थियो।

जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको छ।

 

अमेरिकामाथि नेदरल्यान्डको सहज जीत

आजै भएको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

नकआउट चरणको पहिलो खेलमा अमेरिकामाथि ३–१ गोलअन्तरले विजयी हुँदै नेदरल्यान्डसले क्वार्टरफाइनलमा स्थान बनाएको हो। पहिलो हाफमा २ गोल गरेको नेदरल्यान्डस्ले दोस्रो हाफमा १ गोल थप्यो।

कतारको खलिफा इन्टरनेसनल स्टेडियममा शनिबार राति भएको खेलको १० औँ मिनेटमा नै नेदरल्यान्डले अग्रता लिएको थियो। मेम्पिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए।

यस्तै पहिलो हाफको अतिरिक्त समयमा दले ब्लिनले गोल गर्दै नेदरल्यान्डको अग्रता दोब्बर बनाए।

त्यस्तै, खेलको ७६ औँ मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गरेपनि पर्याप्त भएन। तर, त्यसको ५ मिनेटमै नेदरल्यान्डले गोल थप्दै जित सुनिश्चित गर्‍यो।