विश्वकप फुटबल: इंग्ल्यान्ड क्वार्टरफाइनलमा

जनसम्मत
मंसिर १९, २०७९, सोमबार

इंग्यान्डले कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको अन्तिम ८ मा स्थान बनाएको छ।

अल बायट रंगशालामा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले अफ्रिकी टोली सेनेगलमाथि ३–० गोलको साादार जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो।

एकपक्षीय खेलमा इंग्ल्यान्डलाई जिताउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे।

पहिलो हाफमा २ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा १ गोल थप्यो। ३८ औं मिनेटमा हेन्डरसनले जुड बेलिंघमको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।

त्यसपछि, पहिलो हाफको इन्जुरी समयमा केनले काउन्टर प्रहारमा फिल फोडेनको क्रस बलमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। केनको यो इंग्ल्यान्डका लागि ५२ औं गोल हो।

उनी अब सर्वाधिक गोलकर्ता वायन रुनीको कीर्तिमानबाट १ गोलले मात्र पछि छन्। दोस्रो हाफमा पनि एउटै लय समातेको इंग्ल्यान्डले ५७ औं मिनेटमा तेस्रो गोल गर्‍यो।

बललाई फोडेनले डिबक्सभित्र दिएको पासमा साकाले विपक्षी रक्षकलाई छलाउँदै गोल गरे। सेनेगलको लगातार गोल गर्ने प्रयासमा इंग्ल्यान्डको रक्षापंक्ति बाधक बन्यो।

क्वार्टरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डले साविक विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। आइतबार रातिनै भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोलले हराउँदै इंग्ल्यान्डसँगको भेट पक्का गरेको छ।