विश्वकप फुटबल: साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा

जनसम्मत
मंसिर १९, २०७९, सोमबार

साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

अल थुमामा स्टेडियममा आइतबार राति भएको नकआउट चरणका खेलमा केलिएन एमबाप्पे र ओलिभर गिरोड चम्किदाँ साविक विजेता फ्रान्सले पोल्यान्डलाई ३–१ गोलले हराउँदै अन्तिम ८ मा स्थान बनायो।

फ्रान्सको सानदार जितमा केलिएन एम्बाप्पेले २ गोल गरे। ओलिभर गिरोडले १ गोल गरे। पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे।

गिरोडले ४४ औं मिनेटमा सुरुवाती गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। उनले एमबाप्पेको पासमा गोल गरे। यससँगै गिरोडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाए। यसअघि, थिएरी हेनरीको नाममा ५१ गोलको कीर्तिमान थियो।

पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्यो। ७४ औं मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। औसमाने डेम्बेलेको क्रस बलमा एमबाप्पेको शसक्त प्रहार सोझै जाली चुमेको थियो।

इन्जुरी समयमा एमबाप्पेले उस्तै प्रकारले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जिताए। एमबाप्पेले जारी विश्वकपमा ब्यक्तिगत ५ गोल गरिसकेका छन्। उनले विश्वकपमा २४ वर्षमुनि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाए।

खेल अवधिभर फ्रान्सको दबाब झेलेको पोल्यान्डले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो। लेवान्डोस्कीले पेनाल्टीको सदुपयोग गर्दै पोल्याण्डका लागि शान्त्वना गोल गरे।

डिबक्सभित्र फ्रान्सका डेयोटले ह्यान्ड गरेपछि पोल्यान्डले पेनाल्टी पाएको थियो।

क्वार्टरफाइनलमा फ्रान्सले अब इंग्ल्यान्डसँग खेल्नेछ। इंग्ल्यान्डले सेनेगलमाथि ३–० को शान्दार जित हात पार्दै क्वार्टरफाइनल पुगेको छ।