विश्वकप फुटबल: जापान टाइब्रेकरमा क्रोएसियासँग स्तब्ध

क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्नेछ

जनसम्मत
मंसिर २०, २०७९, मंगलवार

एसिया फुटबलको महारथी जापान कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

सोमबार राति भएको नकआउट चरणका खेलमा जापानलाई क्वार्टरफाइनल जानबाट क्रोएसियाले रोक्यो।

समूह चरणका खेलहरुमा सनसनी मच्चाएको जापानले क्रोएसियासँग टाइब्रेकरमा ३–१ ले स्तब्ध बन्यो।

अल जानोव स्टेडियममा सोमबार राति भएको नकआउट चरणको खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अन्तिम ८ मा स्थान बनायो।

निर्धारित समय र अतिरिक्त समयमा दुबैतर्फबाट १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
टाइब्रेकरमा क्रोएसियाले ३ गोल गर्न सफल बन्यो भने जापानको १ गोल मात्र संभव भयो।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले टाइब्रेकरमा गोल गरे। मार्को लिभाजाको प्रहारलाई जापानका गोलरक्षकले बचाए।

क्रोएसियकाको जीतमा गोलरक्षक डोमिनिक लिभाकोभिच नायक बने। लिभाकोभिचले जापानको ३ वटा टाइब्रेकर रोके।
जापानका ताकुमा ओसानोको मात्र गोल संभव बन्यो। बाँकी ताकुमी मिनामिनो, माया योसिदा र कोरु मितामितोको टाइब्रेकर सूटलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले छेके।

यसअघि, निर्धारित समयमा भने जापानले सुरुवाती अग्रता लिएको थियो। ४३ औं मिनेटमा डाइजेन माएदाको गोलबाट जापानले अग्रता लिएको थियो। माया योसिदाको क्रसपासमा माएदाले पोष्ट नजिकबाट सहजै गोल गरेका थिए।

पहिलो हाफमा पछि परेको क्रोएसियाले ५५ औं मिनेटमा खेललाई बराबरीमा ल्यायो। इभान पेरिसिकले क्रोएसियालाई बराबरीमा ल्याए। डेजन लोभरेनको क्रस बलमा पेरिसिकले गोल गर्दै टोलीलाई बराबरीमा ल्याउन सफल भए।

यस जितसँगै क्रोएसिया क्वार्टरफाइनल पुगेको छ। क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्नेछ।

विश्वकपको सर्वाधिक सफल टोली ब्राजिलले पनि नक आउट चरणको खेलमा सोमबार राति दक्षिण कोरियालाई हराउँदै क्वार्टरफाइनल चरणमा पुगेको छ।

 

आज नकआउट चरणका अन्तिम २ खेल

विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम २ खेलहरु हुँदैछन्।

आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग नेपाली समय अनुसार राति ८:४५ मा प्रतिस्पर्धा गर्दैछ।

आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग नेपाली समयअुनसार राति १२:४५ खेल्नेछ।