विश्वकप फुटबल: कोरियालाई ब्राजिलले रोक्यो

जनसम्मत
मंसिर २०, २०७९, मंगलवार

एसियाकै फुटबल महारथी दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल चरणमै रोकिएको छ।

फिफा विश्वकपमा सर्वाधिक सफल महारथी ब्राजिलले अन्तिम १६ को खेलमा रोक्दा कोरिया यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ।

स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएको हो।

खेलको सुरुवातदेखि नै कोरिायालाई दवावमा राख्न सफल ब्राजिलले ४ वटै गोल पहिलो हाफअगावै गरेको हो।

ब्राजिलका लागि कप्तान नेयमार, भिनिसियस जुनियर, रिचार्लिसन र लुकास पाक्वेटाले गोल गरे। दाक्षिण कोरियाका लागि १ मात्र शान्त्वना गोल पार्क सेउङ होले गरे।

खेल सुरु भएको ७ औं मिनेटमै ब्राजिलले भिनिसियसको गोलमा ब्राजिलले अग्रता लियो। डीबक्सभित्रको घम्साघम्सीमा प्राप्त बललाई भिनिसियसले पोष्ट नजिकबाट गोल गरे।

१४ औं मिनेटमा कप्तान नेयमारले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए। कोरियाका रक्षकले रिचार्लिसनलाई डीबक्सभित्र लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो।

ब्राजिलका लागि रिचार्लीसनले २९ औं मिनेटमा तेस्रो गोल गरे। थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई बलियो अग्रता दिलाए।

त्यसपछि ३६ औं मिनेटमा पाक्वेटाले भिनिसियस जुनिअरको पासमा गोल गर्दै ब्राजिललाई सहज जित दिलाए।
कोरियाले ७६ औं मिनेटमा सान्त्वना गोल फर्कायो। स्युङ हो पाइकको पहिलो प्रहारलाई ब्राजिलका गोलरक्षकले

फर्काउँदा खुट्टामा परेको बललाई पार्क सेउङ होले लामो शसक्त प्रहार गर्दै सिधै विपक्षी पोष्टको जाली चुमाए।
ब्राजिलले अब क्वार्टरफाइनलमा क्रोएसियासँग सेमिफाइनलका लागि खेल्नेछ।