नेपाली महिला राष्ट्रिय फुटवलकी स्टार फरवार्ड सावित्रा ‘साम्बा’ को टिम सेथु एफसी हिरो आइडब्लुएलको च्याम्पियन बन्यो

सावित्रा ‘साम्बा’ को फाइनलमा २ गोल, प्रतियोगिता अवधिभर कूल १५ गोल गरिन

जनसम्मत
जेठ ९, २०७६, बिहीवार

पोखरा । सेथु एफसीले तेस्रो संस्करणको हिरो इन्डियन वुमन्स लिग (आइडब्लुएल) फुटबलको उपाधि जितेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबमाथि ३–१ को जित निकाल्दै उपाधि जितेको हो । सेथुले प्रतियोगितामा खेलेको सबै खेल जित्दै उपाधि कब्जा गरेको हो ।

पञ्जावको लुधियानास्थित गुरु नानक स्टेडियममा बुधवार भएको फाइनल खेल भएको थियो । पहिलो हाफमा एक गोलले पछि परेपनि सेथुले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल जितेको हो । सेथुलाई च्याम्पियन बनाउन सावित्राले दोस्रो हाफमा दुई गोल गरिन् ।

यससँगै सावित्राले यस संस्करणको प्रतियोगितामा कूल १५ गोल गरिन् । समूह चरणमा सावित्राले ह्याट्रिक गर्दा सेथुले मणिपुर पुलिसलाई ६–४ ले पराजित गरेको थियो । फाइनलमा पनि सेथुले मणिपुरलाई सुरुवातदेखि नै दबाबमा राखेपनि गोल गर्न सकेको थिएन ।

खेलको ४४ औँ मिनेटमा राधारानी देवीले गोल गर्दै मणिपुर पुलिसलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा मणिपुरले अग्रता कायम राख्न सकेन भने सेथुले पुनरागमन ग¥यो । ५६ औँ मिनेटमा मणिपुरकी उमापति देवीले आत्मघाती गोल गरेपछि सेथुले खेल बराबरी ग¥यो ।

६१ औँ मिनेटमा सावित्राले व्यक्तिगत पहिलो गोल गरेपछि सेथुले २–१ को अग्रता बनायो । ७० औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि सेथुले ३–१ को अग्रता बनायो । त्यसपछि खेलमा गोल हुन सकेन र फाइनल ३–१ ले जित्दै सेथु च्याम्पियन बन्यो ।

सावित्रासँगै सेथुबाट अर्की नेपाली खेलाडी अनिता बस्नेतले पनि खेलेकी थिइन् । अनिताले प्रतियोगिताको दुई खेल मात्र खेल्ने अवसर पाइन् ।