लेखनाथ महोत्सव पुसको पहिलो सातादेखि

जनसम्मत
मंसिर १७, २०७९, शनिबार

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ।

पहिलो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ देखि १८ गतेसम्म पोखरा २७ को तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराएको हो।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रर्दशनीबाट सुरु गरेको महोत्सवलाई समयानुकुल परिस्कृत र परिमार्जन गर्दै २०६१ सालदेखि वार्षिकरुपमा लेखनाथ महोत्सव गर्दै आएको बताए।

लेखनाथमा पर्यटकीय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्ठी गर्ने आत्रेयले जानकारी दिए। पत्रकारहरुको जिज्ञाशामा आत्रेयले घरेलु उत्पादनका सामग्रीहरुको प्रर्दशनी गरी उद्यमी व्यवसायीहरुको प्रवद्र्धन गर्ने बताए। उनले लेखनाथ महोत्सव मनोञ्जनात्मक पक्षबाट मात्र नभई उपलब्धिमूलकरुपमा आयोजना गरिने स्पष्ट पारे।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको मेला प्रचार–प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए।

ओझाले राष्ट्रिय तथा अन्तर्राट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्दै कोभिड १९ तथा रुस युक्रेन युद्ध जस्ता कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनु नै १८ औं संस्करणको लेखनाथ महोत्सवको मूख्य उद्देश्य रहेको उल्लेख गरे।

 

१० करोड बराबरको आर्थिक कारोबार

महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

महोत्सवमा ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भइ १० लाख बचत हुने बताइएको छ। बचत रकमबाट प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताललगायतका पर्यटकीय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना छ।

महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय, भेषभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरिय, सांस्कृतिक, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहनेछन्।

महोत्सवमा ख्यातिप्राप्त हाँस्यव्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आकर्षणका रुपमा रहने छन्। कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, पोखरा महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले लेखनाथ महोत्सबले लेखनाथ क्षेत्रको पहिचान बोकेको बताए। आगामी दिनमा महोत्सवलाई समय सापेक्षअनुसार परिस्कृत गर्दै महोत्सव संचालन गर्न आयोजकलाई उनीहरुको सुझाब थियो।

संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्र सुवेदी (राजु) ले गरेका थिए। महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेका छन्।

 

महोत्सवलाई विभिन्न जातजातीले सघाउने

महोत्सवलाई यसपटक पनि विभिन्न जनजातीले सघाउने भएका छन्। विगतका महोत्सवहरुमा जस्तै यसपटक पनि आफ्नो भेषभूषासहित कला संस्कृति, रहनसहन, जिवनशैली झपल्कने झाँकीसहित सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन्।

शनिबार झाँकी र्‍याली व्यवस्थापन उप–समितिको आयोजनामा सम्पन्न छलफल तथा अन्तरक्रियामा उप–समितिकी संयोजक बुद्धिकुमारी मगरले लेखनाथ महोत्सव सबै जातजातिको साझा पर्व भएको वताइन्। सक्रियताका साथ आफ्नो पहिचान झल्किने गरी झाँकी र्‍यालीमा सहभागी हुन मगरले आह्वान गरेकी छिन्।

कार्यक्रममा संघका अध्यक्ष एवं मुल संयोजक छत्रधर आत्रेयले लेखनाथ क्षेत्रका संपूर्ण जातजाती र संघसंस्थाले आफ्नै महोत्सवको रुपमा अपनत्व लिएकाले लेखनाथ महोत्सवको पनि महोत्सव भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष बाबुराम गिरीले विगतदेखि नै विभिन्न जातजातीहरुले महोत्सवलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। आगामी दिनहरुमा पनि त्यस किसिमको साथ पाउने गिरीको विश्वास छ।