विश्वकप फुटबल: स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा

जनसम्मत
मंसिर २१, २०७९, बुधबार

कतारमा जारी विश्वकप फुटबलमा पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

स्पेनले प्रहार गरेको ३ पेनाल्टी गोलकीपरले लगातार रोकेपछि मोरोक्कोले पहिलोपटक विश्वकपको अन्तिम ८ मा स्थान बनायो।

कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी टाइममा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा मोरोक्कोले बाजी मारेको हो।

स्पेनबाट पहिलो प्रहारका लागि पाब्लो साराबिया आएका थिए। उनको प्रहार गरेको पेनाल्टी पोस्टमा लागेर फर्कियो।

त्यसपछि, स्पेनका कर्लोस सोलर र सर्जियो बुस्केटको प्रहार पनि मोरोक्कोका गोलकीपरले बचाए।

मोरोक्कोका अब्देलहमिद साबिरी, हाकिम जियाच, र अक्रफ हाकिमीले गोल गरे। मोरोक्कोका बडर बेनाउनको प्रहार स्पेनका गोलकीपर उनाई सिमोनले बचाए पनि टिमको हार टार्न सकेनन्।

यो जितसँगै मोरोक्को विश्वकपको इतिहासमा क्वार्टरफाइनल खेल्ने चौथो अफ्रिकी टिम बनेको छ। यसअघि, अफ्रिकाबाट घाना, सेनेगल र क्यामरूनले मात्र विश्वकपको क्वार्टरफाइनल खेलेका थिए।

यता, सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेन भने लगातार दोस्रो पटक विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ। स्पेन सन् २०१८ को विश्वकपमा पनि रूससँग अन्तिम–१६ को खेलमा पेनाल्टी सुटआउटमै पराजित हुँदै बाहिरिएको थियो।

मोरोक्कोले अब सेमिफाइनल प्रवेशका लागि पोर्चुगलसँग खेल्नेछ। मोरोक्को समूह ‘एफ’ को विजेताको रूपमा र स्पेन समूह ‘ई’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल पुगेका थिए ।