विश्वकप फुटबल: रामोसको ह्याट्रिक, पोर्चुगल क्वार्टरफाइनलमा

जनसम्मत
मंसिर २१, २०७९, बुधबार

गोन्कालो रामोसको ह्याट्रिकप्रेरित पोर्चुगलले मंगलबार स्वीट्जरल्यान्डमाथि ६–१ को सहज जित निकाल्दै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएकामे छ।

कतारको लुसैल रंगशालामा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक गरे। पेपे, रफाइल गुइरेरो र रफाइल लियोले समान १/१ गोलको योगदान गरे।

जारी विश्वकपमा भएको यो पहिलो ह्याट्रिक हो। स्वीट्जरल्यान्डका म्यानुयल अकान्जीले शान्त्वना १ गोल फर्काए।

खेलको १७ औँ मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। ३३ औँ मिनेटमा पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ४ गोल थप्न सफल बन्यो।

५१ औँ मिनेटमा रामोसले पोर्चुगलको अग्रतालाई ३–० मा पुर्‍याए। त्यसको ४ मिनेटपछि गुइरेरोले पोर्चुगलको अग्रतालाई ४–० मा पुर्‍याए। ५८ औँ मिनेटमा स्वीट्जरल्यान्डका अकान्जीले १ गोल फर्काए।

तर, ६७ औं मिनेटमा रामोसले ह्याट्रिक गर्दै पोर्चुगलको अग्रतालाई ५–१ मा पुर्‍याए। खेलको इन्ज्युरी समयमा लियोले गोल गरेपछि पोर्चुगलले ६–१ को फराकिलो जित दिलाए।

पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो। पोर्चुगलले पछिल्लोपटक सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

विश्वकपमा पोर्चुगलको यो दोस्रो ठूलो जित हो। यसअघि, सन् २०१० को विश्वकपमा पोर्चुगलले उत्तर कोरियालाई ७–० ले पराजित गरेको थियो।

जितसँगै पोर्चुगलले सेमिफाइनल प्रवेशका लागि मोरोक्कोसँगको भेट पक्का गरेको छ। मंगलबारै भएको खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा निराश पार्दै अन्तिम ८ मा स्थान बनाइसकेको छ।