स्वतन्त्र स्तम्भकार पन्तका ‘आस्थाका आवाज’ पुस्तक विमोचन

जनसम्मत
मंसिर २२, २०७९, बिहीवार

स्वतन्त्र स्तम्भकार एवं राजनीतिक विश्लेषक भूपनिधि पन्तका ‘आस्थाका आवाज’ पुस्तकको एक कार्यक्रमबीच पोखरामा विमोचन गरिएको छ।

वरिष्ठ साहित्यकार सरुभक्त, पत्रकार कृष्णप्रसाद बास्तोला प्राडा विष्णुप्रसाद पौडेललगायतले आज (बिहीबार) पुस्तकको संयुक्त विमोचन गरेका हुन्।

‘आस्थाका आवाज’ पुस्तक जनआस्था साप्ताहिक पत्रिकामा वि.स. २०५२ देखि २०५८ सम्म पन्तले लेखेका नियमित स्तम्भका लेखहरुको संग्रहित पुस्तक हो।

जनआस्था साप्ताहिकको अग्रपृष्ठमा नियमित स्तम्भमार्फत तत्कालीन विकृति र विसंगतिविरुद्ध कलम चलाउँदै आएका पन्तका ११४ वटा समसामयिक लेखहरु पुस्तकमा संग्रहित छन्।

लेखकका धर्मपत्नी दिलकुमारी पन्त तथा परिवारले पुस्तक प्रकाशन गरेको हो।

कार्यक्रममा बोल्दै सरुभक्तले लेखक पन्तलाई पत्रकार मात्र नभई सिर्जनशील लेखकको रुपमा चिनेको बताए। ३० को दशकमा पोखरा सांस्कृतिक युवा परिवारमा आवद्ध भएदेखि पन्तसँग आफू निकट रहेको उनको भनाई थियो।

सरुभक्तले शुभकामना दिदैँ भने, ‘सांस्कृतिक युवा परिवारमा उहाँ सकृय हुनुहुन्थ्यो। र, साँस्कृतिक परिवारका लागि अभिभावक जस्तै हुनुहुन्थ्यो। पत्रकारिताको दृष्टिले मात्रै होइन, आगामी दिनमा सिर्जनशील लेखकको रुपमा पनि उहाँको परिचय बनोस।’

लेखक पन्तको परिवारद्धारा आयोजना गरेको कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षता, संघका कास्की जिल्ला अध्यक्ष गौतम रानाभाट (असफल गौतम) ले स्वागत तथा कार्यक्रममाथि प्रकाश र ओमकार अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

लमजुङको बेसीसहर नगरपालिका–१ उदिपुर खत्रीचौर पुख्र्यौली घर भएका पन्त हाल पोखरामा बसोबास गर्दै आएका छन्। पोखरामा रहेर नेपाल गद्य लेखक परिषद, पोखराका संस्थापक अध्यक्षसमेत रहेका पन्तको ‘प्रवाह’ कविता संग्रह (रचना, २०३१) प्रकाशित छन्। पन्त, २०४२ सालमा पोखराबाट प्रकाशित ‘सप्तगण्डकी’ पत्रिकाका सम्पादक समेत हुन्।

पन्त, दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०५६, रिपोर्टर्स क्लब नेपाल सम्मान–२०६०, सामाजिक पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत भइसकेका छन्। त्यस्तै, उनी सूर्यलक्ष्मी सम्मान–२०७९ र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण सम्मान २०६९ बाट सम्मानित भइसकेका छन्।

पन्तले नेपाली विषयमा एम ए र डिप्लोमा इन ल गरेका छन्। विभिन्न सरकारी कार्यालय र अदालतमा कार्यरत हाल अवकासप्राप्त जीवन विताइरहेका पन्तसँग कानून व्यवसायी वरिष्ठ अधिवक्ताको समेत अनुभव छ।