मेस्सीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनियन राष्ट्रिय टिमको घोषणा

टोलीमा फरवार्ड माउरो इकार्डी र गोलकिपर सर्जियो रोमेरो परेनन्

जनसम्मत
जेठ ९, २०७६, बिहीवार

पोखरा । कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ ।

आगामी १४ जुनदेखि ७ जुलाईसम्म हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी र म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो टिममा फर्किएका छन् । चर्चित खेलाडीहरुको बाहुल्यता रहेको टिममा लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज र म्याटिस सुआरेज फरवार्डका रुपमा रहने छन् ।

मिडफिल्डमा लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो सेल्सो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल र एन्जल डि मारिया रहेका छन् । टिमको डिफेन्स लाइनमा जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मिल्टन कस्को र मार्कुस अकुना परेका छन् ।

त्यस्तै गोलकिपरमा फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा र अगस्टिन मारचसिन रहेका छन् ।

टोलीमा फरवार्ड माउरो इकार्डी अनी गोलकिपर सर्जियो रोमेरो भने टिममा परेका छैनन् । मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले प्रारम्भिक चरणमा छानिएका ४० खेलाडीबाट अन्तिम टोलीको घोषणा गरेका हुन् ।

सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेसीले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका थिए । तर सरकारदेखि समर्थकको आग्रहपछि मेसी फेरी अर्जेन्टाइन टिममा फर्किए र २०१८ मा रसियामा भएको विश्वकप समेत खेले । त्यसयता भने मेसीले राष्ट्रिय टिमका लागि एक खेल मात्र खेलेका छन् ।

यही जुनमा ब्राजिलमा हुने कोपा अमेरिकाको समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।