विश्वकप फुटबल: साविक उपविजेता क्रोएसिया सेमिफाइनलमा

जनसम्मत
मंसिर २४, २०७९, शनिबार

पेनाल्टी सुटआउट ब्राजिललाई ४–२ ले पराजित गर्दै शुक्रबार साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।

कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेट, इन्जुरी समय र अतिरिक्त समयमा क्रोएसिया र ब्राजिल १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

जसमा ब्राजिलका रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाउँदा मार्किन्होसको प्रहार पोस्टमा लागेर फर्कियो।

क्रोएसियाका ब्रुनो पेट्कोभिच, लोभ्रो मजेर, लुका मोड्रिच र मिस्लभ ओर्सिचले गोल गरे।

ब्राजिलका कासिमिरो र पे्रड्रोले गोल गर्दा रोड्रिगो र मार्किन्होसको प्रहारले जाली चुम्न सकेन।

त्यसअघि, खेलमा अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाए।
नेइमारले क्रोएसियाका एक रक्षक र गोलकीपरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए। यो गोलसँगै नेइमारले ब्राजिलबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरे। नेइमारले पेलेको ७७ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन्।

तर, ११७ औँ मिनेटमा ब्रुनो पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए। त्यसपछि, गोल हुन नसक्दा खेल टाइब्रेकर सुटआउटमा पुगेको थियो।

यसअघि, खेलको निर्धारित ९० मिनेट र इन्जुरी समयमा क्रोएसिया र ब्राजिल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।

जितसँगै क्रोएसियाले अब फाइनल प्रवेशका लागि अर्जेन्टिनासँग खेल्नेछ। आज मध्यराति नै भएको खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमै ४– ले हराउँदै अन्तिम ४ मा स्थान बनाइसकेको छ।

क्वार्टरफाइनल प्रवेशका क्रममा ब्राजिलले अन्तिम–१६ को खेलमा दक्षिण कोरियालाई र क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो।