विश्वकप फुटबल: अर्जेन्टिना सेमिफाइनलमा, नेदरल्यान्ड् स्तब्ध

जनसम्मत
मंसिर २४, २०७९, शनिबार

यस संस्करणको फिफा फुटबलमा दावेदार मानिएको महारथी अर्जेन्टिनाले प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाएको छ।

रोमाञ्चक र नाटकीय खेलको टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ४–३ गोलले स्तब्ध बनाउँदै अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो।

लुसेल आइकोनिक स्टेडियममा शुक्रबार राति भएको निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा अर्जेन्टिनाले बाजी मार्‍यो।

सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना अन्तिममा दबाबमा परेकोे थियो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित खेलमा फर्किएको नेदरल्यान्ड्सले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो। यद्यपी, क्वार्टरफाइनलको टाइब्रेकरमा पुगेर नेदरल्यान्ड्स रोकियो।

निकै रोमाञ्चक खेलको निर्धारित समयमा अर्जेन्टिनाका लागि नाहुयल मोलिना र कप्तान लियोनल मेस्सीले गोल गरे। नेदरल्यान्ड्सका लागि दुवै गोल वोउट वेगहस्र्टले फर्काए।

मेलिनाले ३५ औं मिनेटमा खाता खोले। मेस्सीले डिबक्सभित्र मिलाइदिएको आकर्षक पासलाई मेलिनाले ‘वान भर्सेस वान’मा गोल गरे। त्यसपछि, मेस्सीले ७३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

नेदरल्यान्डका डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। जसलाई मेस्सीले सदुपयोग गर्नुभयो । पाँचौं पटक विश्वकप खेलिरहेका मेस्सीको विश्वकपमा १० औं गोल हो। उनले टाइब्रेकरको समेत जोड्दा ११ औं गोल गरेका छन्।

त्यसपछि, खेलको ८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेलमा फर्कियो। वेगहस्र्टले स्टिभन बर्घाउसको पासमा गोल गर्दै अर्जेन्टिनासँगको दोब्बर अन्तरलाई छोट्याए। दोस्रो हाफको इन्जुरी समयको अन्तिममा वेगहस्र्टले डिबक्स छेउ पाएको फ्रीकिकमा गोल गर्दै खेललाई बरबरीमा ल्याए।

पहिलो हाफमा पकट जमाएको अर्जेन्टिनाले दोस्रो हाफको अन्तिममा लय गुमाएको थियो। निर्धारित समयको अन्तिममा जोसिएको नेदरल्यान्ड्सले लगातार २ गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्न सफल बन्यो। अतिरिक्त समयमा समेत बराबरीमा सकिएपछि टाइब्रेकमा पुगेर अर्जेन्टिनाले बाजी मार्‍यो।

टाइब्रेकरमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लौटारो मार्टिनेजले गोल गरे। एन्जो फर्नान्डेजको प्रहार बाहिरिएको थियो।

नेदरल्यान्ड्सका लुक डी जोङ, वोउट वेगहस्र्ट र टुन कुपमाइनर्सले गोल गरे। कप्तान भर्जिल भान डाइक र स्टिभन बेर्घुइसको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए।

अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार रातिनै भएको पहिलो क्वार्टरफाइनल खेलमा क्रोएसियाले टाइब्रेकरमै ब्राजिललाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।

 

आजपनि क्वार्टरफाइनलका २ खेल

 

विश्वकप फुटबलमा आज शनिबार क्वार्टर फाइनलका अन्तिम २ खेल हुँदैछन्।

आज, पहिलो खेल मोरक्को र पोर्चुगलबीच हुँदैछ। त्यस्तै, दोस्रो खेल साविक विजेता फ्रान्स र इंग्लायन्डबीच हुँदैछ।

कतारको अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच राति पौने ९ बजेबाट सुरु हुनेछ।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो।

त्यस्तै, अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टरफाइनलमा फ्रान्स र  इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो। इंग्ल्याण्ड सेनेगललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।