विश्वकप फुटबल: पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

जनसम्मत
मंसिर २४, २०७९, शनिबार

मोरक्काले पोर्चुगललाई हराउँदै कतारामा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

मोरक्कोले पहिलो हाफमा गरेको १ मात्र गोल खेलमा निर्णायक बन्यो।

योसँगै मोरक्को विश्वकपको सेमिफाइलनमै प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बनेको छ।

क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए। उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए। गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिए।

योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन्। उनले हालसम्म प्रतियोगितामा ३ गोल गरिसकेका छन्।

त्यसपछि, दुबै टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल बन्यो।

खेलको इन्जुरी समयमा वालदी चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो। चेदिराले १ मिनेटभित्र दोहोरो पहेंलो कार्ड खाएपछि लगत्तै रातो कार्ड खाएर मैदानबाट बाहिरिए।

मोरक्कोले जारी विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगल जस्ता फुटबलको महारथीलाई हराएर सेमिफाइनलसम्मको इतिहास रचेको छ।

अब, मोरक्कोले फ्रान्सबीसँग सेमिफाइनलमा भिड्नेछ। बुधबार राति पौने १ बजे मोरक्कोले फ्रान्ससँग खेल्नेछ।