विश्वकप फुटबल: साविक विजेता फ्रान्स सेमिफाइनलमा

जनसम्मत
मंसिर २५, २०७९, आइतबार

साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई हराउँदै फ्रान्सले सेमिफाइनलमा प्रवेश गरेको हो।

कतारको अल वयात रंगशालामा शनिबार राति भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

फ्रान्सका लागि अउरेलियन चुआमेनी र ओलिभर जिरुडले गोल गरे। इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गरे।

खेलको १७ औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन चुआमेनीले गोल गर्दै अग्रता दिलाए। चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो। एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए।

दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो। खेलको ५४ औँ मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए। ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए। पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

५८ औँ मिनेट ओलिभर जिरुडले गोल गरेपछि दोस्रो पटक फ्रान्सले अग्रता लियो। जिरुडको गोलबाटै फ्रान्सले इंग्ल्यान्डमाथिको खेल जितेको थियो। जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेता फ्रान्सलाई दोस्रो पटक अग्रता दिलाए। उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो।

८४ औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो। थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए। दोस्रो पेनाल्टी अवसरमा भने कप्तान ह्यारी केन चुके। उनको प्रहार क्रसबार माथिबाट बाहिरियो।

फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ। बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को सेमिफाइनल भिड्नेछन्।