खड्ग र सन्तोषीलाई नेपालगञ्ज म्याराथनको उपाधि

जनसम्मत
मंसिर २४, २०७९, शनिबार

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन्।

नेपालगञ्जमा भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।

म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमश: नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए। रावतले निर्धारित दूरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा पूरा गरे।

यसअघि, सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए।

उपाधि विजेता खड्काले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते। दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार रुपैयाँ पुरस्कार जिते।

यस्तै आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन्। उनी सातौँ संस्करणकी समेत च्याम्पियन हुन्। उनले निर्धारित दूरी १ घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै ६० हजार पुरस्कार जितिन्।

म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी १ घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गर्दै ३० हजार पुरस्कार जितिन् भने तेस्रो भएकी अञ्जु खड्काले १ घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै १५ हजार पुरस्कार जितिन्।

हरेक वर्ष मंसीर ५ गते नेपालगञ्ज म्याराथन हुँदै आएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण यस वर्षको म्याराथन २ सातापछि धकेलिएको हो।