यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसीप: सेमिफाइनल समीकरण पूरा

जनसम्मत
मंसिर २४, २०७९, शनिबार

यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसीपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण पूरा भएको छ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्।

समूह ‘बी’ बाट युएई ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया ७ अंकसाथ उपविजेताको हैसियतले सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनलमा भारतको भेट युएइसँग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ।

समूह ‘ए’ मा रहेको नेपालले भारतसंगै समान ५ अंक जोडेपनि स्कोरअन्तरका आधारमा पछाडि रह्यो। नेपालले भारतलाई १२–१० ले पराजित गरेको थियो। नेपाल थाइल्यान्डसँग १५–७ तथा मलेसियासँग ३४–० ले पछि पर्‍यो। पुरुषमा ८ टिम सहभागी छन्।

नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्यान्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसीपमा पुन: प्रतिस्पर्धा गर्नेछन्। प्लेटमा नेपालले ताइपेइ तथा थाइल्यान्डले बंगलादेशविरुद्ध खेल्नेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलाको राउन्ड रोविन लिगमा भारत र थाइल्यान्डले समान ३–३ खेल खेल्दै समान ७–७ अंक जोडेका छन्। ५ टिम सहभागी राउन्ड रोविनमा दुवैको १–१ खेल बाँकी छ।

समान २–२ खेल खेलेका युएई, नेपाल र मलेसियाको क्रमश: ६ अंक, २ अंक र २ अंक छ। नेपाल थाइल्यान्डसँग ३९–० र युएईसँग ४१–० ले पराजित बन्यो।