यु–१८ एसियाली रग्बीमा कोरिया र युएई च्याम्पियन

जनसम्मत
मंसिर २५, २०७९, आइतबार

दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन्।

च्याम्पियनसीपअन्तर्गत आइतबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरिया तथा महिलातर्फ युएई च्याम्पियन बनेका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले हरायो।

त्यसअघि, आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो बन्यो। मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो।

पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले हराउँदै विजेता बन्यो। ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले हराउँदै प्लेटतर्फ फाइनल खेलेका हुन्।

८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो। सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्‍यो।

महिलाको उपाधि भिडन्तमा युएईले भारतलाई २६–५ ले हरायो। मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउँदै तेश्रो बन्यो। महिलामा नेपालसहित ५ राष्ट्रको प्रतिस्पर्धा थियो।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाई, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो।