विश्वकप फुटबल: अर्जेन्टिना–क्रोएसिया सेमिफाइनल खेल्दै

अहिलेसम्म अर्जेन्टिना–क्रोएसियाको ‘हेड टु हेड’

जनसम्मत
मंसिर २७, २०७९, मंगलवार

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (मंगलबार) अर्जेन्टिना र क्रोएसिया खेल्दैछन्।

यी २ देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ।

अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले ५ पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन्।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी २ पटकसम्म विश्वकपको उपाधि जितेको छ। ३ पटक फाइनलमा पुगेको छ।

क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन्। अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो।

 

अर्जेन्टिना–क्रोएसिया ‘हेड टु हेड’

हालसम्म अर्जेन्टिना र क्रोएसिया ५ खेलमा सामने–सामने भएका छन्।

जसमा दुवै टिमले २/२ खेलमा जित निकालेका छन्। १ खेलमा भने बराबरी खेलेका छन्।

यी २ टिमले सन् १९९० मा पहिलोपटक एक–अर्काविरुद्ध खेलेका थिए। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यसपछि अर्जेन्टिना र क्रोएसियाले सन् १९९८ मा एकअर्काविरुद्ध खेले। सो विश्वकप खेलमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले हरायो।

१९९८ पछि अर्जेन्टिना र क्रोएसियाले २००६ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेले। जहाँ क्रोएसियासँग अर्जेन्टिना ३–२ ले पराजित बन्यो। त्यसपछि यी दुई टिमले २०१४ मा पनि मैत्रीपूर्ण म्याचमा प्रतिस्पर्धा गरे। सो खेलमा भने अर्जेन्टिनाले क्रोएसियालाई २–१ ले हरायो।

अर्जेन्टिना र क्रोएसियाले २०१८ को विश्वकपमा पनि एकअर्काविरुद्ध खेले। सो समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले स्तब्ध बनायो।

जारी विश्वकपमा क्रोएसिया अर्जेन्टिनाविरुद्ध गत संस्करणकै जित यात्रालाई कायम राख्ने साेंचमा छ। उत्कृष्ट लयमा रहेको अर्जेन्टिना गत विश्वकपको हारको बदला लिँदै फाइनलको यात्रा गर्ने योजनामा छ।