क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

जनसम्मत
मंसिर २८, २०७९, बुधबार

विश्व फुटबल महारथी अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ।

साबिक उपविजेता क्रोएसियामाथि शानदार जित निकाल्दै २ पटकको विश्वकप विजेता अर्जेन्टिना फाइनल पुगेको हो।

कतारस्थित लुसैल स्टेडियममा मंगलबार राति भएको यस संस्करणकै पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को गोलअन्तरले हरायो।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेज चम्किए। प्रतियोगिताकै पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले कतार विश्वकप फुटबलको फाइनलमा सहजै स्थान बनायो।

अर्जेन्टिनाको जितमा मेस्सीले १ र अल्भारेजले २ गोलको योगदान गरे।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। जसमा मेस्सीले सहजै गोल गर्दै अर्जेन्टिनियन टोलीलाई अग्रता दिलाए।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो। मेस्सीले पूर्व अर्जेन्टिनियन खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमानलाई समेत तोडे।

मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा पनि बराबरी गरेका छन्। मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर म्याथुसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन्।

त्यस्तै खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए। काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे।

त्यस्तै, ६९ औं मिनेटमा जुलियन अल्भारेजले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–० को अवस्थामा जित निश्चित गराए।

मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा अल्भारेजले सहजै गोल गरे।

त्यसपछि, खेलमा थप गोल हुन नसकेपछि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गर्‍यो।

यस संस्करणसँगै अर्जेन्टिनाले १८ वटा विश्वकपमा सहभागिता जनाइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। २ पटकको विश्वविजेता अर्जेन्टिनावले पछिल्लोपटक २०१४ मा फाइनलमा खेलेको थियो।

विश्वकै नम्बर १ खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन। कप्तान मेस्सीको यो लगभग अन्तिम विश्वकप हुनेछ।

पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदी अरबसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर, त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ।

पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो। १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थपेको थियो।

१९९० पछि भने अर्जेन्टिना दोस्रोपटक फाइनलमा पुगेको हो। त्यस संस्कणमा पनि पहिलो पटक सहभागिता जनाएको अफ्रिकन मुलुक क्यामरुनसँग अघिल्लो विश्वकप जितेको अर्जेन्टिनाले उद्घाटन खेल हारेको थियो। त्यसपछिका खेलहरु लगातार जित्दै गएर फाइनल खेलको थियो। फाइनलमा पुगेपनि साविक उपविजेता जर्मनीसँग हारेको थियो।

त्यसपछि, २०१४ मा विश्वकपमा स्थान बनायो। तर, पूरानै प्रतिस्पर्धी जर्मनीले उपाधि यात्रामा अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो।