विश्वकप फुटबलको फाइनल समिकरण पूरा

उपाधिका लागि अर्जेन्टिना र साविक विजेता फ्रान्स फाइनल भिड्नेछन्

जनसम्मत
मंसिर २९, २०७९, बिहीवार

कतारमा जारी विश्वकप फुटबलको फाइनल समिकरण पूरा भएको छ।

बुधबार राति दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्सले विश्व फुटबलमा उदीयमान टोली मोरक्कोलाई हराएसँगै फाइनल समिकरण पूरा भएको हो।

अब, यस संस्करणको विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना  फाइनल भिड्ने भएका छन्।

फाइनलमा २/२ पटक विश्वकप जितेको फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्नेछन्।

यसअघि, पहिलो सेमिफाइनलबाट क्रोएसियालाई हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाइसकेको छ।

अल बायट स्टेडियममा बुधबार राति भएको अन्तिम सेमिफाइनल खेलमा मोरोक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि रक्षाको बाटोमा देखिएको हो।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे।

खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो।

खेल सुरु भएको पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। हर्नान्डेजले डिबक्सभित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे।

फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थप्यो। औसमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका मुआनीले मैदान छिरेको पहिलो मिनेटमै गोल गरे। उनले डिबक्सभित्र केलियन एमबाप्पेले मोरोक्कोका रक्षकलाई छल्दै दिएको पासमा पोस्ट नजिकबाट गोल गरे। मुआनीको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

यता बल पोसेसनमा पक्कड जमाएपनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल हुन सकेन। फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो।

सन् १९९८ र २०१८ मा २ पटक विश्वकप उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो।

लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि अर्जेन्टिनासँग खेल्नेछ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० गोलले हराएर फाइनलमा स्थान बनाईसकेको छ।

फाइनल खेल आइतबार राति हुनेछ।