विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

कतार विश्वकपको फाइनल खेल आज (आइतबार) साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच हुँदैछ

जनसम्मत
पौष ३, २०७९, आइतबार

क्रोएसियाले फिफा विश्वकप २०२२ मा तेस्रो स्थान जित्न सफल भएको छ।

ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्ले–अफमा क्रोएसियाले २–१ गोलअन्तरले पराजित गरेर तेस्रो स्थान जित्न सफल भएको हो।

क्रोएसियाले विश्वकपमा पुन: एकपल्ट उच्चस्तरको प्रदर्शन गर्न सफल भएको छ। सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा आफूलाई बलियो टोलीका रुपमा स्थापित गरेको छ। क्रोएसिया ४ वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो।

प्ले–अफ खेलको सुरुवात शानदार र विष्फोटक रह्यो। ७ औं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अगत्रता बनाएको थियो। तर, अचरफ दारीले २ मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरी खेल बराबरीमा ल्याए।

मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुन: अग्रता दिलाए। मूलत: उनको क्रसबल डिफ्लेक्ट भएपछि बलले पोष्टको दिशा लिएको थियो। जसलाई मोरक्कोका प्रोफोलिक गोलकीपर यासिन बोनोले पनि अनुमान गर्न सकेनन्।

पहिलो हाफको तुलनामा खेलको दोस्रो हाफको खेल निरशलाग्दो बन्यो। मोरक्कोले खेलमा बराबरीका लागि केही राम्रा अवसरको उपयोग गर्न सकेन। जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार २ हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ।

कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ। जहाँ साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमने–सामने हुनेछन्। यो खेल दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु गर्नेछ।