विश्वकप फुटबल: अर्जेन्टिना–फ्रान्स उपाधिका लागि भिड्दै

अहिलेसम्म, अर्जेन्टिना–फ्रान्सको ‘हेड टु हेड’

जनसम्मत
पौष ३, २०७९, आइतबार

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज (आइतबार) अर्जेन्टिना र फ्रान्स आमने–सामने हुँदैछन्।

यी २ टिमबीचको उपाधि भिडन्त आज राति ८:४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ।

अर्जेन्टिना र फ्रान्स दुबै तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन्। फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि, फ्रान्सले १९९८ को विश्वकप ट्रफी हात जितेको थियो। त्यस्तै, तेस्रोपटक नै विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा ट्रफी जितेको थियो।

त्यसयता अर्जेन्टिना २ पटक फाइनल र ३ पटक क्वार्टरफाइनलसम्म पुग्यो। तर, अर्जेन्टिना उपाधि जित्न भने चुक्यो।

यसपटक उसले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई २–० ले हराउँदै फाइनल यात्रा गरेका हुन्।

जारी विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित नतिजा बेहोर्‍यो। त्यसका बाबजुद अर्जेन्टिनाले उत्कृष्ट कमब्याक गर्दै फाइनलमा स्थान बनायो।

उसले समूह चरणको दोस्रो खेलमा पोल्याण्ड र तेस्रो खेलमा मेक्सिकोलाई समान २–० गोल अन्तरले हरायो। अर्जेन्टिनाले समूह विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाएको थियो। अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले अन्तिम ८ मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हरायो।

त्यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो। दोस्रो खेलमा डेनमार्कलाई हराएको फ्रान्सले समूह चरणको अन्तिम खेलमा भने ट्युनिसियासँग १–० को अप्रत्यासित हारको सामना गर्न पुग्यो।

समूह विजेताको रूपमा नकआउट चरण पुगेको फ्रान्सले अन्तिम १६ मा पोल्याण्ड र क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो। सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलको यात्रा तय गर्न सफल बन्यो।

 

अर्जेन्टिना–फ्रान्स ‘हेड टु हेड’

अहिलेसम्म विश्वकपमा अर्जेन्टिना र फ्रान्सले ३ खेलमा एक–अर्काविरुद्ध खेलेका छन्। जसमा अर्जेन्टिनाले २ र फ्रान्सले १ खेलमा जित निकालेका छन्। यी २ टिमले पहिलो विश्वकप (१९३०) मा प्रतिस्पर्धा गरेका थिए। जसमा अर्जेन्टिना १–० ले विजयी बनेको थियो।

त्यसपछि, अर्जेन्टिना र फ्रान्सले सन् १९७८ को विश्वकपमा खेले। जसमा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले हराएको थियो। अर्जेन्टिना र फ्रान्सले विश्वकपमा अन्तिमपटक २०१८ मा एकअर्काविरुद्ध खेलेका थिए। सो खेलमा फ्रान्ससँग अर्जेन्टिना ४–३ गोलले पराजित बन्यो।

समग्र नतिजा हेर्दा अहिलेसम्म फ्रान्स र अर्जेन्टिनाले १२ खेलमा एकअर्काविरुद्ध खेलेका छन्। जसमा अर्जेन्टिनाले ६ र फ्रान्सले ३ खेलमा जित हात पारेका छन्। यी २ टोलीले अहिलेसम्म ३ खेल बराबरी खेलेका छन्।

हालसम्म अर्जेन्टिना ६ पटक विश्वकप फाइनलमा पुगेको छ। जसमा उसले २ पटक उपाधि जित्न सफल बन्यो। ३ पटक फाइनल पुग्दा फ्रान्सले २ पटक उपाधि जितेको छ। उत्कृष्ट लयमा रहेका यी दुबै टिमबीचको उपाधि भिडन्त लुसैल स्टेडियममा रोमाञ्चक हुने अनुमान लगाइएको छ।

यसपटक उपाधि विजेताले ४२ मिलियन अमेरिकी डलर अर्थात् करिब ५ अर्ब ४५ करोड रुपैयाँ पुरस्कार पाउनेछ। यो रकम सन् २१ औँ संस्करणभन्दा ४ मिलियन अमेरिकी डलरले बढी हो। त्यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ।