पोखराको ल्याण्डफिल्ड साइडमा आजदेखि फोहोर फ्याँक्न रोक लगाइयो

जनसम्मत
पौष ३, २०७९, आइतबार

पोखराको छिनेडाँडास्थित ल्याण्डफिल्ड साइडमा आज (आइतबार)देखि फोहोर फ्याँक्न रोक लगाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको ल्याण्डफिल्ड बाधक बनेपछि फोहर फ्याँक्न रोक लगाइएको हो।

पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ। महानगर कार्यपालिकोे गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाको लागि हेम्जा, विरौटाको लागि छोरेपाटनलगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सीहरु छन् ।

जनवरी १ बाट जसरी पनि अन्तराष्ट्रिय विमानस्थल संचालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो।

हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्याण्डफिल्ड साइड छोप्न सुरु गरिएको छ।

दीर्घकालीन समयको लागि संभावित ठाउँमा वातावरण अध्ययनको लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिएका छन्। त्यसैगरी, वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ। जसले दीर्घकालीन रुपमा ल्याण्डफिल्ड साइडको खोजी गर्नेछ।

सो समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पहरूमा अध्ययन गर्ने छ।

विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गरिक मल, पाइपजन्य उत्पादन, फर्निचरलगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यीमध्ये कुनै न कुनै विकल्पलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरेको जनाइएको छ।

महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भैसकेको र संचालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरू आवश्यक सहजीकरणसहित सहयोगका लागि आमनगरवासी र सम्बन्धित सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ।