अर्जेन्टिना तेस्रो पटक विश्वकप च्याम्पियन

जनसम्मत
पौष ४, २०७९, सोमबार

अर्जेन्टिना, तेस्रो पटक फिफा विश्वकप फुटबल च्याम्पियन बनेको छ।

तेस्रो पटक विश्वकपको च्याम्पियन बनेसँगै उसले फिफा विश्वकप २०२२ को उपाधि उचालेको छ।

एकपछि अर्को गोलको वर्षा भएको ‘थ्रिलर म्याच’को पेनाल्टी सुटआउटमा फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना नयाँ च्याम्पियन बनेको हो। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको ट्रफी घर भित्राएको हो।

यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको थियो। यो जितपछि अर्जेन्टिनाले समग्रमा तेस्रोपटक विश्वकपको उपाधि उचालेको हो।

निर्धारित ९० मिनेटको खेल २/२ र थप ३० मिनेटपछि खेल ३/३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो। अर्जेन्टिनाको जितमा फेरिपनि एक पटक गोलकिपर एमिलियानो मार्टिनेज नायक बने।

टाइब्रेकर सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे। लगत्तै, मेस्सीले पनि गोलमा परिणत गरे। किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए। लगत्तै, पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

फ्रान्सका औरेलिएन चुआमेनीको टाइब्रेकर सूट बाहिरिएपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए। फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे।

यसअघि, अर्जेन्टिनाका लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डी मारियाले गोल गरेका थिए।

खेलको २३ औं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र ओस्मान डेम्बेलेले एन्जल डी मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। मेस्सीले विपक्षी गोलरक्षक कप्तान ह्युगो लोरिसलाई गलत दिशातर्फ पठाउँदै अर्जेन्टिनालाई अघि बढाए।

३६ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डी मारियाले पेनाल्टी क्षेत्रभित्रबाट फिनिस गरे। एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्रयाप बिट गरेपछि दिएको पासमा डी मारिया चुकेनन्।

दोस्रो हाफको उत्तराद्र्धमा किलियन एमबाप्पे चम्किए। एमबाप्पेले २ मिनेटभित्र २ गोल गर्दै खेललाई नाटकीय मोडमा फर्काए। उसले २ मिनेटको अन्तरमा २ गोल गरेपछि खेल बराबरीमा आएको थियो।

पहिलो ८० मिनेटसम्म २–० गोलको अग्रता बनाएको अर्जेन्टिना सहज जिततर्फ उन्मुख थियो। ८० र ८१ औँँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई नाटकीय रूपमा बराबरीमा ल्याए।

८० औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टोलीलाई खेलमा फर्काए। निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। एमबाप्पेको पेनाल्टी प्रहारमा गोलरक्षक एमिलियानो मार्टिनेजले सही डाइभ हान्दै हातले छोएपनि बल पोस्टभित्र छिरेको थियो।

कोलो मुआनीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे। उनले पेनाल्टी क्षेत्रभित्रबाट पहिलो टचमा गरेको हाफ भलीमा मार्टिनेजले हात लगाएपनि पोस्टभन्दा बाहिर पठाउन सकेनन्।

त्यसपछि थपिएको ३० मिनेटभित्र दुवैतर्फबाट पुन: १/१ गोल भयो। १०९ औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई पुन: जिततर्फ टोलीलाई अगाडि बढाए। लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाएपनि रिबाउन्डमा मेस्सीले गोल गरे। मेस्सीको प्रहार जुल्स कुन्डेले क्लियर गरेपनि उनले पोस्टभित्र पसेर बल बचाएको भनि रेफ्रीले निर्णय दिदैं अर्जेन्टिनाको पक्षमा गोलको मान्यता दियो।

तर, ११८ औँ मिनेटमा पेनाल्टीमा पुन: एम्बाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उसले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए। पेनाल्टी क्षेत्रभित्र गोन्जालो मोन्टिएलले ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। एमबाप्पेले गोलरक्षक मार्टिनेजलाई विपरित दिशामा पठाउँदै खेल बराबर गरे।

अन्तत: खेल टाइब्रेकर सुटआउटमा पुग्यो। जहाँ, अर्जेन्टिनाले खेल ४–३ गोलअन्तरले आफ्नो पक्षमा पार्दै तेस्रो पटक फिफा विश्वकप फुटबलको उपाधि जित्यो।