दोहोरियो सन्दीपको सीपीएल यात्रा, ८० लाखमा बार्बाडस ट्रीडेण्टससँग अनुवन्ध

‘म उत्साहित छु,’ सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन, ‘एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताका साथ प्रतीक्षामा छु ।’

जनसम्मत
जेठ १०, २०७६, शुक्रबार

पोखरा । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडस ट्रीडेण्टसमा अनुबन्धित भएका छन् ।

वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लीग सीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बार्बाडसले अनुबन्ध गरेको हो ।

बेलायतको लण्डनमा भएको खेलाडी चयनमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप करिव ८० लाख रुपैयामा अनुबन्धित भएका हुन् । सन्दीपलाई बार्बाडस ट्री डेन्टसले आफ्नो टोलीबाट लीग खेल्न अनुबन्ध गराएको हो । सन्दीपले पाएको यो रकम अहिलेसम्मकै सर्वाधिक हो । सीपीएलको गत सिजन पनि खेलेका सन्दीपले त्यतिबेला करिव ६ लाख रुपैया मात्र पाएका थिए । सन्दिपले आगामी जुलाईको ११ देखी अगष्टको १६ तारिखसम्म हुने सीपीएल लीग खेल्नेछन् ।

गत सिजनमा उनले खेलेका यस्ता फ्रेन्जाइजी लीगमध्ये लामिछानेले सबैभन्दा बढी अस्ट्रेलियाको चर्चित लीग बिग ब्याशमा ५० हजार अमेरिकी डलर पाएको बताइएको छ । त्यसपछि क्यानडामा सम्पन्न ग्लोबल टी–२० लीगमा ४० हजार डलरमा छानिएका उनले अफगानिस्तान प्रिमियर लीगमा १५ हजार डलर र टी–१० लीगमा ३० हजार डलर मूल्य पाएका थिए । गत वर्षको सिजनमा उनलाई पाँच हजार डलरमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सले किनेको थियो । उक्त सिजनमा आफ्नो टोलीका लागि सन्दीपले पाँच खेलमा सात विकेट लिएका थिए ।

सीपिएल खेल्ने खेलाडीहरुको प्रारम्भिक सूचीमा चार जना नेपाली राष्ट्रिय टोलीका खेलाडीको नाम परेपनि सन्दीप मात्र अन्तिम सुचीमा पर्न सफल भए । ड्राफ्टमा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलको सुचीमा नाम थियो । तर, अन्तिम चयनमा भने सन्दीप मात्र पर्न सफल भए ।

६ वटा टोलीले प्रतिस्पर्धा गर्ने सीपीएल लीगमा प्रतिस्पर्धा गर्नेछन् । सीपीएल सहभागी टीमहरुमा बार्बाडोससँगै गुयना एमजन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन ।

आफू नयाँ टोलीमा छानिएलगत्तै सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखे, ‘म उत्साहित छु । एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताका साथ प्रतीक्षामा छु ।’

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् । बिश्वकै धनी क्रिकेट लीग इन्डियन प्रिमियर लीग आईपीएल टि–२० खेलेदेखि सन्दीप चर्चाको शिखरमा छन् ।

भारतको चर्चित व्यावसायिक प्रतियोगिता आइपीएलमा गत वर्ष पहिलो नेपाली खेलाडीका रूपमा ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए । सन्दीपले त्यसपछि आफ्नो व्यावसायिक जीवनमा पछाडि फर्केर हेर्नुनपरेको खेलकुद विज्ञहरु बताउँछन् ।

 को हुन् सन्दीप लामिछाने ?

२ अगष्ट, २००० मा स्याङ्जाको आरुचौर–तालपोखरीमा सन्दीपको जन्म भएको थियो। भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँग सन्दीप सानो उमेरमै पढ्नका लागि भारत पुगे । भारतमा ४ कक्षासम्म मात्रै पढ्दा सन्दीपले क्रिकेट खेललाई नजिकबाट नियाले ।

सन्दीपले चितवनको नारायणगढस्थित क्याम्पसचौरस्थित चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । उनलाई त्यहाँ पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी राजु खड्काले क्रिकेट सिकाएका थिए ।

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके एकदिने प्रशिक्षणको लागि चितवन पुग्दा सन्दीपको बलिङबाट चाँडो प्रभावित भए । त्यसपछि, आईसीसी विश्व क्रिकेट लीग अन्तर्गत युएईसँगको खेलको लागि राष्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लीगमा सन्दीपलाई खेल्ने मौका दिइयो । सुपर लीगअन्तर्गत एक खेलमा सन्दीपले ४ विकेट लिए ।

सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु–१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दीप छनौट भए । यु–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्र्वाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए ।

आईसीसीले सन्दीपलाई उक्त यु–१९ बिश्वकपको उत्कृष्ट ११ क्रिकेट खेलाडीको सुचीमा समेत परेका थिए । सन्दीपले बंगलादेश यु–१९ बिश्वकप २०१६ मा आयरल्याण्डसंग ह्याट्रिक सहित ५ विकेट लिएका थिए । पारस खड्काले सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गरे ।

बंगलादेश यु–१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए । त्यसबखत बीबीसी लगायत अन्तराष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए ।

यु–१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए । त्यसपछि सन्दीप राष्ट्रिय टिमको लागि लगातार खेलिरहेका छन् ।
राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दीपले हङकङलाई घरेलु टि–२० प्रतियोगिता हङकङ टि–२० ब्लीट्ज २०१६ खेल्न बोलाइएको थियो । त्यहाँ उनले अस्ट्रेलियन पुर्ब कप्तान माइकल क्लार्कसँगै काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाए ।

हङकङमा क्लार्कसँगै एकै टिममा खेल्न पाएका सन्दीपको प्रदर्शनबाट प्रभावित भएका क्लार्कले उनलाई अस्ट्रेलियामा खेल्ने प्रस्ताब दिए । माइकल क्लार्कको निम्तोमा सन्दीप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगे । अस्ट्रेलिया पुग्ने क्रममा सन्दीपलाई स्वागत गर्न क्लार्क स्वयं एअरपोर्ट पुगेका थिए । उनले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेले ।

साढे २ महिना अस्ट्रेलिया बसाइँको क्रममा सन्दीप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए । जुन क्रममा क्लार्कले सन्दीपको निकै प्रशंशा गरेका थिए ।

सन्दिपलाई २०१६ डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु–१९ एसिया कपमा नेपाली टिमको कप्तान बनाइएको थियो । त्यसपछि उनले २०१७ एसिया यु–१९ बिश्वकप छनौटमा पनि नेपाली टिमको कप्तानी गरे ।

२०१७ यु–१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । २४ विकेट लिंदै उनी नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी खेलाडी बन्न पुगे ।

सन्दीपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृष्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा सामेल गरेको थियो ।