पोखरामा साइकल दौड र ‘टुर दि पोखरा’ हुँदै

जनसम्मत
पौष ४, २०७९, सोमबार

 

पर्यटकीय सहर पोखरामा बिहीबार साइकल दौड र शनिबार ‘टुर दि पोखरा’ हुँदैछ।

पोखरा महानगरपालिका कार्यालय मातहतको खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार ‘दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता’ को तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

जसमध्ये ३ विधामा हुने ५० किलोमिटर दूरीको साइकल दौडको तयारी गरिएको साइकल सिटी पोखराले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायत जिल्लाबाट ३ विधामा ६० जनाभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ।
नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा साइकल सिटी पोखराको सहयोग रहनेछ।

४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी ३ विधामा साइकल दौड हुनेछ। पोखरा–२१ को छोरेपाटनस्थित फुस्रेखोलाको युवा वर्ष आधारभूत विद्यालय कमेरे नजिकैबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुन: कमेरेमा आएर समापन हुने आयोजकले जनाएको छ। यो रुटमा २ फन्को लगाएपछि ५० किलोमिटर दूरी पूरा हुनेछ।

‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ आयोजना गरिन लागेको साइकल दौड प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषहरुको सहभागिता रहनेछ। प्रतियोगिताका विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ। ४० वर्षमुनिको विधामा सान्त्वना हुने २/२ जना महिला र पुरुष प्रतियोगीलाई ५/५ हजार रुपैयाँको पुरस्कार छ।

४० वर्षमाथिको विधामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ।

त्यस्तै, बिहीबार बागलुङ कालिका मन्दिरदेखि बिन्ध्यवासिनी मन्दिरसम्म ७२ कि.मि. दूरीको साइकल र्‍याली गरिदैंछ।

त्यस्तै, शनिबार पोखरा उपत्यकामा पनि साइकल र्‍याली (टुर दि पोखरा) गरिदैंछ। गरिदैंछ।

पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रबाट सुरु साइकल र्‍यालीले महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, विन्ध्यवासिनी, बागबजार, टुंडिखेल, हरिचोक, मिरुवा, जिरोकिलोमिटर, सभागृहचोक, बीपीचोक, महेन्द्रपुल, रानीपौवा, शितलादेवी, भद्रकाली स्कूल, मियाँपाटन, ३२ केभी, अमरसिंह, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै पुन: नयाँबजारको प्रदर्शनी केन्द्रमा आएर समापन हुनेछ।

त्यस दिन लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सहकार्यमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिदैंछ। उक्त दिन स्लो साइकल प्रतियोगिता र सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने साइकल सिटी पोखराले जनाएको छ।