मेस्सी र अर्जेन्टिनाको चर्चा अझै सेलाएको छैन

विश्वकप ट्रफी बोकेर अर्जेन्टिना पुगे मेस्सी, विमानस्थलमा भब्य स्वागत, मेस्सी बने, ‘बीबीसी वल्र्ड स्पोर्ट्स स्टार अफ द इयर’, दुर्घटनाबाट जोगिए मेसीसहित ५ अर्जेन्टिनी खेलाडी

जनसम्मत
पौष ५, २०७९, मंगलवार

एसियाली खाडी मुलुक कतारले सफलतापूर्वक आयोजना गरेको विश्वकप फुटबल सकिएपनि विश्वकप विजेता अर्जेन्टिना र कप्तान मेस्सीको चर्चा भने अझै सेलाएको छैन।

विश्वकप फुटबलको इतिहासमा ३६ वर्षपछि अर्जेन्टिनाले उपाधिलाई घर भित्राएको छ। टोलीका कप्तान लियोनेल मेस्सी र उनका टिमले देशलाई विश्वकप जस्तो प्रतिष्ठित उपाधि दिलाएका छन्। उपाधि जितेसँगै लियोनेल मेस्सी सर्वकालीन महान फुटबलर बनेकमा छन्।

सर्वकालीन महान फुटबलर मेस्सी र उनका टिम विशेष विमानद्वारा विश्वकपको ट्रफी लिएर मंगलबार बिहान मात्रै देश पुगेका छन्। कतारमा विश्वकपको उपाधि उचाल्न सफल अर्जेन्टिनाको टिम स्थानीय समयानुसार मंगलबार बिहान राजधानी ब्युनर्स आयर्समा उत्रिएका हुन्।

त्यहाँ उनीहरुलाई अर्जेन्टिनियन जनताले भव्य स्वागत गरेका छन्। विश्व विजेता टिमलाई स्वागत गर्न अर्जेन्टिनाको राजधानीमा हजारौँ समर्थक सडकमा उत्रिएका थिए। विमानस्थलमा विमानबाट उत्रँदा कप्तान लियोनल मेस्सी सबैभन्दा पहिला ट्रफी लिएर बाहिर निस्किए। त्यसपछि, प्रशिक्षक लियोनल स्कालोनी र अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो फाबियन टापिए बाहिर निस्किए।

टिमलाई विमानस्थानलमा रातो कार्पेट ओछ्याएर स्वागत गरियो। टिमलाई आतिसबाजी र लाइभ ब्यान्डसहितले स्वागत गर्‍यो। विजयी टिमलाई विभानस्थानबाट निस्कनेबित्तिकै निलो र सेतो राष्ट्रिय रंगको जर्सी लगाएका समर्थकहरूले हर्षोल्लासका साथ स्वागत गरे।

मेस्सीको टिमलाई सेतो बसमा राखेर सहर परिक्रमा गराइएको थियो। सडकमा उत्रिएका हजारौँ समर्थकले अर्जेन्टिनाको झन्डा फहराउँदै र पटाका पड्काएर स्वागत गरे।

टोलीले पहिले अर्जेन्टिना फुटबल संघको प्रशिक्षण मैदानमा समर्थकमाझ रात बितायो। टोलीको आगमन अघि सोमबार प्रशिक्षणस्थलमा समर्थकहरूको थामिनसक्नु भीड थियो।

विश्वकप जितेपछि कप्तान लियोनल मेसीले यो सफलताको खुसियाली आफू अर्जेन्टिना पुगेर हेर्न चाहेको बताउँदै आएका थिए।

मेस्सीले भनेका थिए, ‘यो जितको खुसियाली कस्तो हुनेछ म अर्जेन्टिना पुगेर हेर्न आतुर छु। म संपूर्ण अर्जेन्टिनी समर्थकलाई धैर्य गर्न आग्रह गर्छु। म पनि त्यहाँ आउन र खुसियाली साट्न ब्यग्र छु।’

अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको हो। यसअघि, अर्जेन्टिनाले सन् १९८६ र १९७८ मा विश्वकपको उपाधि जितेको थियो। १९७८ मा मारियो केम्पेसले र १९८६ मा डिएगो म्यारोडोनाले विश्वकपको ट्रफी उचालेका थिए।

कतारमा गएको आइतबार राति सम्पन्न फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि उचालेको हो। फ्रान्स गत संस्करणको विजेता टिम हो।

 

मेस्सी, ठूलो दुर्घटनाबाट जोगिए

विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टिम गंभीर दुर्घटनाबाट जोगिएको समाचार छ।

फ्रान्सलाई हराएर विश्वकप ट्रफीसहित स्वदेश अर्जेन्टिना फर्किएको टिम ‘ओपन टप बस’ को माथि बसेर समर्थकहरूको स्वागतमा ट्रफी प्रदर्शनमा रमाइरहँदा बाटोमा रहेको ‘ओभरहेड पावर केवल’ मा झन्डै ठोक्किन पुगेका थिए।

सार्वजनिक भएको भिडियोमा उनीहरूले अन्तिम केही सेकेन्ड निहुरिएर संभावित दुर्घटना टारेका थिए। टप बसमा मेस्सीसहित फर्वाड एञ्जल डी मारिया, ल्यान्डो पारेडिसलगायतका टोलीका खेलाडीहरु रहेका थिए।

अर्जेन्टिना टिम स्थानीय समयअनुसार बिहान ४ बजे नै एयरपोर्टबाट समर्थकसहितको यात्रामा निस्किएका थिए।

 

मेस्सी, ‘बीबीसी वल्र्ड स्पोर्ट्स स्टार अफ द इयर’

फिफा विश्वकप फुटबल–२०२२ विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी ‘बीबीसी वल्र्ड स्पोर्ट्स स्टार अफ द इयर’ बनेका छन्।

३५ वर्षीय मेस्सीले कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताए। यस संस्करणको सर्वोत्कृष्ट खेलाडी बन्दै उनले गोल्डेन बल अवार्ड पनि प्राप्त गरे।

आइतबार फ्रान्सविरुद्धको विश्वकप फाइनल खेल मेस्सीको २६ औँ विश्वकप खेल थियो। उनले जर्मन खेलाडी लुथर म्याथुसको सबैभन्दा धेरै विश्वकप खेल्ने रेकर्ड पनि तोडेका छन्। यसैगरी मेस्सी विश्वकपमा अर्जेन्टिनाबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बनेका छन्।