लेखनाथ महोत्सवको तयारी पूरा

जनसम्मत
पौष ५, २०७९, मंगलवार

१८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ।

लेखनाथस्थित डाँडाकोनाकमा आयोजना गरिएको महोत्सव १८ गतेसम्म चल्नेछ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ मूल नारा दिएर लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको संयुक्त आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको छ।

स्टल निर्माणसँगै सजावटको काम भइरहेको छ। महोत्सवमा २३७ स्टल रहनेछन्। पुराना प्रविधिबाट बनेका माटाका भाडा, बाँसको चोयाले बनेको डोको, परालको गुन्द्री, फलामका भाडावर्तन र दृष्टिविहिनले बनाएको अगरबत्तीका लागि निशुल्क स्टलको व्यवस्था गरिएको छ।

यस वर्षको महोत्सवको अर्को आकर्षणका रुपमा लेखनाथको प्रमुख पर्यटकीयस्थल बेगनासताल र वरपरका कोट, मठमन्दिर तथा हरियाली जंगलहरुलाई सांकेतिक रुपमा प्रतिविम्वित हुनेगरी प्रदर्शनीमा राखिदैंछ।

महोत्सवमा घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय शैक्षिक कार्यक्रम एवं प्रदर्शन गरिदैंछ। जनजातिहरुको सम्मानमा उनीहरुको लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट कार्यक्रमलाई महोत्सवामा राखिनेछ।

ख्यातीप्राप्त हास्यव्यंग कलाकारहरुको दैनिक प्रस्तुती हुनेछन्। राष्ट्रिय लोकदोहोरी कार्यक्रम र युवाहरुको मनोरञ्जनका लागि सुगम संगीत तथा पप कन्सर्ट महोत्सवका प्रमुख आकर्षणहरु रहनेछन्।

महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, कस्मेटिक तथा श्रंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रहरु, सूचना प्रविधि तथा संचारका उपकरण तथा लेखनाथ क्षेत्रका गतिविधिहरुको स्टल रहनेछन्।

त्यस्तै, फूड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी, लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी र दूग्धजन्य उत्पादनको प्रदर्शनी र जैविक विविधताका सामग्रीहरु स्टलमा राखिनेछन्।

२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्न अनुमान गरेको प्रचार–प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन्।

२०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएकोमा ३ बर्षपछि लेखनाथ महोत्सवको पहिलो संस्करण भएको थियो।

‘महोत्सवमा १० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य छ,’ ओझाले भने, ‘९५ लाख रुपैयाँ आम्दानी हुँदा १० लाख रुपैयाँ बचत हुनेछ।’

महोत्सवको पूर्व सन्ध्यामा सोमबार कवि शिरोमणि लेखनाथ पौडेलको सम्मानमा कविता वाचन गरिएको छ। पौडेलले सिर्जना गरेका १८ कविताहरुलाई १८ कविहरुले वाचन गरेको जनाइएको छ।

पत्रकार सम्मेलनमा चर्को बैंकको व्याज बृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाइ यस क्षेत्रको आर्थिक गतिविधि बढाउन मद्दत गर्ने ओझाले बताए।

औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नु महोत्सवको उद्देश्य रहेको ओझाको भनाई छ।

ओझाका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला–संस्कृति, रितिरिवाजको जगर्ना गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने महोत्सवको लक्ष्य रहनेछ।

गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको सह–आयोजना र पोखरा महानगरपालिका कार्यालय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको महोत्सवलाई विभिन्न सामाजिक संघ–संस्थाको सहयोग रहनेछ।