आहा ! रारा पोखरा गोल्डकपमा सहभागी १० टिमको टुंगो

जनसम्मत
पौष ५, २०७९, मंगलवार

२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ।

प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा विभागीय नेपाल सेनाको त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, अमेरिकाको बिवाइएस्सी, धरान फुटबल क्लबको टुंगो लागेको हो।

क्लबले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त गरेकोमा १३ गतेको मैत्रीपूर्ण खेलका कारण २ दिन पछि सरेको हो। यसअघि १२ टिम भनिएकोमा १० टिमको छिनोफानो भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताएका छन्।

गत संस्करणको विजेता एपीएफ र उपविजेता मनाङ मस्र्याङ्दी क्लब हुन्।

सहारा क्लब पोखराले यही पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा आयोजना गर्ने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरेको छ। प्रतियोगिताका विजेताले १२ र उपविजेताले ६ लाख प्राप्त गर्ने छन्। प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो।

२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु गरिएको प्रतियोगिता २२ औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो।

बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने सहारा क्लब पोखराले जनाएको छ। हाल तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताएका छन्।

प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ उद्देश्यका मोफसलको चर्चित सहारा क्लब पोखराले संचालन गर्ने यो प्रतियोगितामा विगतमा झैं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहनेछ।

उत्कृष्ट ५ विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रदान गरिने जनाइएको छ।