हिक्मत, लक्ष्मी र नयनले जिते साइकल दौडको उपाधि

भोलीदेखि ‘टुर दि पोखरा’ हुँदै

जनसम्मत
पौष ६, २०७९, बुधबार

हिक्मत वि.क., लक्ष्मी मगर र नयन मानन्धरले दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि हिक्मत विकले जितेका छन्।

हिक्मतले निर्धारित ५० किलोमिटर दूरी ३ घण्टा १२ मिनेटमा पूरा गरी उपाधि जिते।

४० वर्षमुनिको पुरुषतर्फ ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सन्दीप सुन्दौली द्वितीय भए। त्यसैगरी, ३ घण्टा ४८ मिनेटमा निर्धारित दूरी पार गर्दै सुमित गुरुङ तृतीय भएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन्।

त्यस्तै, महिलातर्फको विधामा लक्ष्मी मगरले उपाधि जितिन्। लक्ष्मीले ५० कि.मि.को निर्धारित दूरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गर्दै उपाधि जित्न सफल भइन्। उक्त स्पर्धामा सुधा राई दोस्रो र सोफिया वि.क. तेस्रो बनिन्। महिलातर्फको यो स्पर्धामा ३ जना साइक्लिस्टले मात्र सहभागिता जनाएका थिए। सुधा र सोफियाले निर्धारित दूरी पूरा गरेकाले उनीहरुलाई दोस्रो र तेस्रो स्थानका लागि टुंगो लगाइएको थियो।

त्यस्तै, ४० बर्ष माथिका खेलाडी सहभागी प्रतियोगितमा भने नयन मानन्धर विजेता बनेका। नयनले निर्धारित दूरी ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड लगाएर पार गर्दै प्रथम बने।

उक्त स्पर्धामा देवबहादुर बोहोरा दोस्रो र बाबुराम विश्वकर्मा तृतीय भए। देवबहादुरले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र बाबुरामले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो बनेका हुन्।

प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार हात पारे।

४० वर्षमाथिको विधामा प्रथम हुनेले १० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार हात पारे। ४० वर्षमुनिको स्पर्धामा शान्त्वना पुरस्कार प्राप्त गर्ने २ जना पुरुष प्रतियोगीले ५/५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाए। सुमन वि.क. र शिवप्रसाद थारुले शान्त्वना पुरस्कार पाएका हुन्।

पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघकोखोर, भालुडाँडा हुँदै पुन: कमेरेमा आएर साइकल दौड समापन भएको थियो। यो रुट २ फन्को लगाएपछि दूरी पार भएको मापन गरिएको थियो।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले पोखरामा बुधबार साइकल दौडको आयोजना गरेको हो।

साइकल सिटी पोखराको सहयोगमा भएको प्रतियोगिता नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोग रहेको हो।

विजेता खेलाडीहरुलाई पोखराका मेयर धनराज आचार्य, समितिका अध्यक्ष दीपक गोदारलगायतले पुरस्कार वितरण गरे।

यसअघि, उक्त प्रतियोगिताको उद्घाटन समारोहमा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिना, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा–२१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदी, पोखरा–१५ का वडाध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, पोखरा–१७ का वडाध्यक्ष राधिकाकुमारी शाही ‘योगी’ लगायतको सहभागिता रहेको थियो।

 

भोलीदेखि ‘टुर दि पोखरा’ हुँदै

भोली, (बिहीबार) देखि छैटौं संस्करणको ‘टुर दी पोखरा’ हुँदैछ।

साइकल सिटी पोखराको आयोजनामा यही (पुष ७ देखि ९ गते) सम्म हुने ‘टुर दी पोखरा’ मा पोखरा बाहिरका करिब ४ सय जना साइकलिष्ट सहित १ हजार ५ सय जना साइक्लिस्टहरुको सहभागिता रहने ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजूले बताए।

‘टुर दी पोखरा’ अन्तर्गत फ्रान्समा हुने ‘साइकल टुर’कै झल्को दिनेगरी विहीबार ७२ किलोमिटर दूरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी मन्दिर जोड्ने गरी यात्रा हुने भएको संयोजक गोङ्गजूले जनाए। उनका अनुसार उक्त यात्रामा करिब १ सय जना सहभागी हुँदैछन्।

‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ साइकल सिटीले ‘टुर दी पोखरा’ कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ।

कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागी हुने भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताएका छन्। पुष ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल र्‍याली हुने भएको छ। सोही दिनमै उक्तदान कार्यक्रम समेत हुने भएको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए।

पोखराको प्रदर्शनी केन्द्रबाट सुरु भई उक्त र्‍याली पोखराका विभिन्न भाग परिक्रमा गरी प्रदर्शनी केन्द्रमै पुगेर समापन हुने भएको छ।