११ औं संस्करणको ‘पोखरा महोत्सव’को तयारी तीब्र

जनसम्मत
पौष ६, २०७९, बुधबार

पोखरामा पुसको २७ गतेदेखि सुरु हुने ११ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ।

स्थानीय युनाइटेड क्लवको आयोजनामा २७ गतेदेखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

स्थापनाकालदेखि युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदि संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ।

महोत्सवकै आम्दानीबाट एघारौं पोखरा महोत्सवको संघारमा आइपुग्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले वताएका छन्।

त्यस्तै, आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दूरदराजका गाउँहरुमा स्वास्थ्य शिविर, युवाहरुलाई कुलतबाट फस्नबाट रोक्न खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउन युनाइटेड क्लवले खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा स्थानीय खेलकुद प्रतियोगिताहमा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रही टेवा पुर्‍याउदै आइरहेको समेत अध्यक्ष श्रेष्ठले वताए।

क्लवले स्थापनाकालदेखि नै उठाउँदै आएको पोखरामा मानवनिर्मित खुल्ला चिडियाखाना निर्माणको कामले यतिवेला तीब्रता लिइरहेको श्रेष्ठले वताए। हालसम्म युनाइटेड क्लवले चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैया नगद प्रदान गरिसकेको श्रेष्ठले वताए।

क्लवको पहलकदमीमा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय निर्देशक दिनेशकुमार थपलियाले पोखरालाई २० उत्कृष्ट गन्त्ब्य निर्माण गर्ने उद्देश्यभित्र चिडियाखाना पनि रहेको २० काममध्ये चिडियाखाना निर्माणलाई प्राथमिकतामा राखिएको थियो।

सोहीअनुरुप पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा २०७२ साल साउन १५ गते सिलान्यास भइ पशुपंक्षी उद्धार केन्द्र हुँदै हाल चिडियाखाना गण्डकी पदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला बन डिभिजन कार्यालयमार्फत निर्माणको कार्य अगाडि वढाइएको क्लवका अध्यक्ष श्रेष्ठले वताए।

११ औं पोखरा महोत्सवबाट चिडियाखानाको ठाउँमा सेती नदी एक सााहसिक पर्यटकीय गन्तब्य निर्माणका लागी केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले वताए। प्रत्येक महोत्सवमा प्रति टिकटबाट १ रुपैया सेती नदी संरक्षण अभियानलाई छुट्याइने समेत श्रेष्ठले जानकारी दिए।

महोत्सवमा अपाङ्ग, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) वनका कार्मचारीलाई नि:शुल्क प्रवेश गराइने जानकारी गराइएको छ। पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई नि:शुल्क स्टल उपलब्ध गराइने प्रचार–प्रसार संयोजक दिनेश सुनारले वताएका छन्।

त्यस्तै, कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने भएको छ। १३ दिनसम्म संचालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र संपूर्ण स्टलहरु बुकिङ भइसकेका छन्। महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्‍याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानबारे जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पुर्‍याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको प्रचार प्रसार संयोजक सुनारले वताए।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघसंस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संघसंस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधिहरु संचालन हुनेछन्।

महोत्सवको आकर्षणको रुपमा राष्ट्रियस्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्यब्यंग प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बालउद्यान, प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता, झाँकी प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने समेत प्रचार–प्रसार संयोजक सुनारले जानकारी दिएका छन्।

महोत्सवमा शौचालयको ब्यवस्था, निशुल्क वाईफाईको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरीबतास, हुलदंगा बीमाको ब्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था, पार्किङको उचित ब्यवस्था र प्रत्येक स्टललाई १ थान टेवल र २ थान कुर्चीको ब्यवस्था गरिने जनाइएको छ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले महोत्सवको सफलताको कामना गर्दै सुरक्षालाई विशेष ध्यान दिन आग्रह गरिन्। उनले महोत्सवकै आयोजना गरी सामाजिक काममा लागेर पोखराकै अब्बल संस्था बन्न पुगेको उनको भनाई थियो।

युनाइटेड क्लवका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य राख्दै पोखरा महोत्सव संपूर्ण पोखरेलीको महोत्सव भएकाले सवैले सहयोग गरी युनाइटेडको सामाजिक अभियानमा भाग लिन समेत आग्रह गरे।