१० औं संस्करणको लिटरेचर फेस्टिभल पोखरामा सुरु

जनसम्मत
पौष ७, २०७९, बिहीवार

पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ।

पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको फेस्टिभलमा करिब २ सय वक्ता र हजारौंको संख्यामा सहभागीहरु रहनेछन्।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गरे।

आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए। सधैँ साथ दिन तयार रहेको उनको प्रतिबद्धता थियो।

आचार्यले भने, ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पाएको छ। यसको निरन्तरता यहीँ हुनुपर्छ र सबै पोखरेलीहरूले यसलाई सम्बोधन गर्नुपर्छ।’

काठमाण्डौं विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले फेस्टिभलमा विद्वतप्रवचन दिए।

‘नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका संभावना एवं राजनीतिक सामाजिक नेतृत्वले लिनुपर्ने बाटाहरुबारे चर्चा गरे।

‘अबको एक दशकमा जनसंख्या सवा ३ करोड पुग्ला र मुलुक जनसांख्यिक लाभको उत्कर्षमा आइपुग्ने उनको अनुमान छ।

‘संसार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसको तुलनामा हामी धेरै सुस्त छौँ। नेपाललाई बराबरीको हैसियतमा उभ्याउन कुनैपनि मुलुक कुरेर बस्ने छैन, हामी आफै उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ“’, उनले भने।

कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य र धन्यवाद मन्तव्य राखे।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले पनि यस साहित्यिक महोत्सवको महत्वबारे चर्चा गरे।
गण्डकीको भाषा, संस्कृतिको प्रवर्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने ‘विखर्ची’ को प्रतिबद्धता थियो।