लिटरेचर फेस्टिभल: ‘घरबाट स्कूलसम्म’ विषयमा छलफल

जनसम्मत
पौष ७, २०७९, बिहीवार

पोखराको लेकसाइडस्थित वाराहीघाटमा सुरु लिटरेचर फेस्टिभलमा पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ’घरबाट स्कुलसम्म’ शीर्षकमा छलफल गरिएको छ।

फिस्टेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले गरेको छलफलमा बालबालिकाको विकासक्रममा अपनाउनुपर्ने संवेदनशीलतालगायत विविध पक्षबारे अन्तरक्रिया गरिएको छ।

एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको दाबी छ। दाहालले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन्।

‘सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुलबाट नै वर्गीय उत्पादन हुने देखिन्छ। सिकाईको खाडल त्यहीँबाट सुरु भएको देखिन्छ’ डा. दाहालले भनिन, ‘निजी विद्यालयको सिको गरेर अंग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन्। यो एकदमै विभेद छ, वर्गीकरण छ।’

कार्यक्रममा वरिष्ठ संगीतकार गोपाल योञ्जनका गीतहरूको सांगीतिक प्रस्तुतिसमेत गरिएको थियो। कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे। उज्ज्वल सागर, बानिका प्रधानलगायतले योञ्जनका गीत गाए। फेस्टिभलकै अवसरमा फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको संग्रह ’गोपालय’ समेत लोकार्पण गरिएको छ।