शेरबहादुर देउवा ५ औं पटक काँग्रेस संसदीय दलको नेता चुनिए

जनसम्मत
पौष ६, २०७९, बुधबार

शेरबहादुर देउवा ५ औं पटक नेपाली काँग्रेस संसदीय दलको नेता निर्वाचित भएका छन्।

बुधबार बिहान भएको काँग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका देउवा निर्वाचित भएका हुन्।

उनले महामन्त्री गगनकुमार थापालाई ३९ मतले पराजित गरेका हुन्।

८९ सदस्यीय काँग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत मात्रै पाए। योसँगै काँग्रेस संसदीय दलको नेताको जिम्मेवारी देउवाले ५ औं पटक पाएका हुन्।

२०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सहयोगमा देउवा पहिलो पटक संसदीय दलको नेता बनेका थिए। सोही बेला उनी ४९ वर्षकै उमेरमै पहिलो पटक प्रधानमन्त्री समेत बने।

प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ मा भएको काँग्रेस संसदीय दलको निर्वाचनमा देउवाले सुशील कोइरालालाई पराजित गर्दै दोस्रो पटक संसदीय दलको नेता बने।

२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बनेका सुशील कोइरालाले दलीय सहमतिअनुसार ३ असोज २०७२ मा संविधान जारी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

यसपछि, भएको काँग्रेस संसदीय दलको नेता बन्ने निर्वाचनमा रामचन्द्र पौडेललाई परा हराउँदै देउवा तेस्रोपटक संसदीय दलको नेतामा निर्वाचित भए।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि प्रकाशमान सिंहलाई हराउँदै देउवा चौथो पटक संसदीय दलको नेतामा निर्वाचित भए।

बुधबार गगन थापालाई पराजित गर्दै पाँचौँपटक देउवा संसदीय दलको नेतामा विजयी भए।