१८ औं संस्करणको लेखनाथ महोत्सव सुरु

स्थानीय उत्पादनलाई जोड दिन प्रदेश प्रमुख गुरुङको सुझाव

जनसम्मत
पौष ७, २०७९, बिहीवार

पोखराको तालचोकमा विहिबारदेखि १८ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास संबृद्धि’ भन्ने नारासहित सुरु भएको महोत्सव यही पुष १८ गतेसम्म चल्नेछ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुुरुङले महोत्सवको उद्घाटन गरे।

कार्यक्रममा बोल्दै उनले हस्तकलालगायत स्थानीय उत्पादनलाई मेला र महोत्सवमा बिशेष जोड दिनुपर्ने औंल्याए।

गुरुङले विविध कारणले हाल नेपालको अर्थतन्त्र निकै कमजोर हुदै गएकोमा चिन्त्ता व्यक्त गरे। गुरुङले यस्ता मेला महोत्सवले थप आर्थिक चलायमान बनाउन मद्धत पुग्ने दाबी समेत गरे।

कार्यक्रममा प्रदेश सांसद खगराज अधिकारीले देशको अबस्थाअनुसार मेला र महोत्सवलाई परिमार्जन गर्दै व्यबस्थापन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटलगायतको उपस्थिति थियो।

महोत्सवमा फूड फेस्टिवल, औद्योगिक व्यापार मेला, अटोमोवाइल प्रदर्शनी, वित्तीय, सेवामूलक, स्थानीय क्षेत्रमा उत्पादित बस्तु, सुन्तला, माछा, मौरी, कफी, दूग्धजन्य उत्पादनसहित विभिन्न व्यापारिक स्टलहरु राखिएका छन्।

महोत्सवमा शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीको साथमा सूचना प्रविधि तथा संचार उपकरणहरु पर्यटन र लेखनाथ क्षेत्रका गतिविधिहरु समेतलाई समेटिएका छन्। महोत्सवमा ३ सय ३७ वटा स्टल रहेका छन्।

१२ दिनसम्म चल्ने महोत्सवमा २ लाख ५० हजार दर्शक भित्राउँदै १० करोड बराबरको आर्थिक कारोवार गर्ने अपेक्षा गरिएको छ।