बागलुङदेखि पोखरा जोड्ने ‘टुर दी पोखरा’ सकियो

बागलुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरलाई जोड्ने साइकल र्‍याली

जनसम्मत
पौष ७, २०७९, बिहीवार

यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तगत विहिबार ७२ किलोमिटर दूरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली गरिएको छ।

‘टुर दी पोखरा’ अन्तर्गत फ्रान्समा हुने ‘साइकल टुरकै’ झल्को दिनेगरी बिहीबार बागलुङदेखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजुले बताए।

उक्त र्‍यालीमा १० बर्षीय लुकास भट्टराईदेखि ७३ बर्षका तिर्थ श्रेष्ठसहित करिब एक सय भन्दा बढी साइक्लिटहरुको सहभागिता थियो। ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ साइकल सिटीले ‘टुर दी पोखरा’ कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको संयोजक गोङ्गजुले जनाए।

गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले यसैबीच उक्त साइकल र्‍यालीको उद्घाटन गरे। मन्त्री शर्माले कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमले खेल पर्यटनको प्रबद्र्धन हुने दाबी गरे। नेपाल आयल निगमका निर्देशक विनि श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललगायतको कार्यक्रममा सहभागिता थियो। बागलुङ कालिका मन्दिरका पण्डितबाट टिका र प्रसाद ग्रहण गरी निस्केको उक्त र्‍यालीले बागलुङ बजार, कुस्मा बजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर टुंगिएको थियो।

विन्ध्यवासिनी मन्दिरमा मुल पुजारीले र्‍यालीका सहभागीहरुलाई टिका र प्रसाद प्रदान गरे। त्यस्तै, स्थानीय आमा समुहसहितको टोलीले पोखरामा उनीहरुलाई स्वागत गरे। कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागीे भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताए। कम्तिमा पनि एक दिन भएपनि साइकल चढेर पेट्रोलियम पदार्थको खपत घटाउने अभियान आफूहरुले सुरु गरेको उनको भनाई थियो।

यसैबीच, यही पुष ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल र्‍याली हुने भएको छ। उक्त साइकल र्‍यालीमा करिब १ हजार ५ सय जना सहभागी हुने अपेक्षा गरिएको संयोजक गोङ्गजुले जनाए। पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्‍याली पोखराका विभिन्न भाग परिक्रमा गरी प्रर्दशनी केन्द्रमै पुगेर समापन हुनेछ। सो अवसरमा रक्तदान कार्यक्रम समेत हुने भएको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए।

‘टुर दी पोखरा’को पूर्वसन्ध्यामा पोखरामा बुधबार पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता सम्पन्न भइसकेको छ।