१९ औं संस्करणको माछापुच्छ्रे टेनिस पुसको ११ गतेबाट पोखरामा

पोखराबाट मात्रै ५७ र पोखरा बाहिरबाट ९३ जनाको सर्वाधिक खेलाडीहरुको ऐतिहासिक सहभागिता

जनसम्मत
पौष ८, २०७९, शुक्रबार

कास्की जिल्ला टेनिस संघले ‘१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रानस टेनिस प्रतियोगिता २०७९’ तयारी सुरु गरेको छ।

यही पुसको ११ गतेबाट १५ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टमा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो।

माछापुच्छ्रे टेनिस प्रतियोगितामा अहिलेसम्मकै ठूलो सहभागिता रहने कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जनाएका छन्। पोखरामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा चालिसेले दाबी गरेका हुन्।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आउन लागेको उपाध्यक्ष चालिसे जानकारी दिए। माछापुच्छ्रे टेनिस खेलको इतिहासमा नै सर्वाधिक पोखराबाट ५७ र पोखरा बाहिरबाट ९३ जनाले सहभागिता जनाउँदैछन्।

प्रतियोगिता अन्तर्गत मेन्स तथा वुमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्षमाथि गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछन्।

प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, वुमन्स सिंगल्समा ८ जना, ३५ वर्षमाथि मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्षमाथि सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथि सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्षमाथि सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन्।

प्रतियोगितामा ओपन मेन्स तथा वुमन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन्। त्यसैगरी, सेमीफाइनालिष्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने आयोजक कास्की टेनिस संघले जनाएको छ।

प्रतियोगितामा मेन्स तथा वुमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन्।

३५ वर्षमाथि भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजारसहित ट्रफी तथा मेडल पुरस्कार पाउनेछन्। सेमिफाइनालिस्टले नगद १० हजारसहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजारसहित ट्रफीसँगै सेमीफाइनालिस्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

४५ वर्ष भन्दा माथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताअन्तर्गत नै हुने ५५ वर्ष माथिको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिस्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै, डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिस्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा ६५ वर्ष माथिको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिस्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए।

प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ। प्रतियोगिता सम्पन्न गर्न माछापुच्छ«े बैंकले मुख्य प्रायोजन वापत नगद ५ लाख उपलव्ध गराउने भएको छ।