अमेरिकाको वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटियो

अनुसन्धानमा सहयोगको लागि आह्वान, सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना

जनसम्मत
पौष ९, २०७९, शनिबार

वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटिएको दुताबासले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ।

डिसेम्बर २३ शुक्रबारका दिन जारी गरिएको बिज्ञप्तिअनुसार टेक्सस राज्यको डालस, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित धनादेश (मनि अर्डर) खजाञ्ची पत्र (क्यासियर चेक) हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोध गरेको छ।

यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्ससको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाउनुभएको धनादेश (मनि अर्डर ) खजाञ्ची पत्र (क्यासियर चेक) हरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डीसीतर्फ जाने क्रममा सवारी साधन अडान क्षेत्र (पार्किङ)मा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड गरी लुटपाट भएको दुताबासले जनाएको छ।

दूतावासले तत्काल ह्युसटन प्रहरी बिभाग र कुटनैतिक सुरक्षा बिभाग ह्युस्टन तथा लगायतका निकायहरुमा उजुर गरी लुटिएको कागजातहरु फिर्ता लिन प्रयास गरीरहेको बिज्ञप्तिमा उल्लेख छ। सेवाग्राहीहरुमा समय र स्रोतसाधनको हिसाबले पर्न जाने असुबिधाप्रति राजदूतावासले क्षमा समेत मागेको छ।

 

हेर्नुहोस, दूतावासको विज्ञप्ति

 

एजेन्सी