कवि शिरोमणि लेखनाथ पौडेलप्रति समर्पित कविता वाचन

महोत्सवको पुर्बसन्ध्यामा १८ कविद्वारा १८ कविता वाचन

जनसम्मत
पौष ४, २०७९, सोमबार

१८ औं लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा आज (सोमबार) १८ कविहरुले १८ कविता वाचन गरेका छन्।

कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचना गरिएका १८ कविता १८ जना कविहरुले वाचन गरेका हुन्।

कार्यक्रममा कवि शिरोमणि पौडेलले रचना गरेका कवितामध्ये कविहरु ऋषिकेश बरालले ‘ऋतुविचार’, तारानाथ पराजुलीले ‘पूर्बस्मृति’, डा. इश्वरमणि अधिकारीले ‘चरीको बिलाप’, जीवनसागर भण्डारीले ‘गौँथलीको चिरीबीरी’, अमृता पोख्रेलले ‘कालमहिमा’, नवराज अधिकारीले ‘पिँजडाको सुगा’, नारायणी अधिकारीले ‘तरुण तपसी’, अम्बिकाप्रसाद भट्टराईले ‘हिमाल’, छन्दिका त्रिपाठीले ‘आमाको सम्झना’, सागर केसीले ‘नैतीक दृस्टान्त’ कविता वाचन गरे।

यस्तै, कविहरु पद्मराज ढकालले ‘बुद्धि बिनोद’, नारायणप्रसाद पोख्रेलले ‘मेरो किशोर’, निर्मल सोतीले ‘साहित्यको फुटबल’, डा. जगन्नाथ रेग्मीले ‘कलमसित’, शिव संकल्पले ‘सत्य सन्देश’, बिकेश गिरीले ‘कुञ्जबर्तिनी बिप्रलब्धा’, शिव त्रिपाठीले ‘वसन्त कोकिल’ र माधवशरण उपाध्यायले ‘भानु अस्तायेपछि’ लगायतका शीर्षकहरुको कविता वाचन गरे।

वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै कवि शिरोमणि लेखनाथ पौडेल कविहरुका पनि कवि भएको औंल्याए। उनको सम्मानका लागि यही क्षेत्रत्रका व्यक्तित्वहरु लाग्नुपर्नेमा श्रेष्ठले जोड दिए।

अवसरमा वडा न. २७ का अध्यक्ष पुर्णकुमार गुरुङ, लेखनाथ उधोग वाणिज्य संघका पुर्वअध्यक्ष सुमन भट्टराई लगायतले बोलेका थिए।

महोत्सवका संयोजक छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक कार्यक्रम उपसमिति सह–संयोजक सञ्जीव पौडेलले स्वागत, धन्यवाद ज्ञापन उप–समितिका सदस्य मदन घिमिरेले धन्यावद ज्ञापन र संयोजक केपी ढुंगानाले कार्यक्रम संचालन गरेका थिए।

 

पुस ७ गतेदेखि महोत्सव 

यही पुस ७ गतेदेखि लेखनाथको तालचोकस्थित डाँडाको नाकमा महोत्सव सुरु हुँदैछ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्न आयोजकले निशुल्क स्टलको ब्यवस्था गरेको छ। त्यस्तै, महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषि, अटो, रेडिमेट, वित्तीय संस्था, पर्यटन प्रवद्र्धन, सूचना प्रविधि र उद्योगका स्टलहरु रहने प्रचार–प्रसार संयोजक राजेन्द्र ओझाले वताए।

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जनजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहनेछन्। महोत्सवमा ख्यातिप्राप्त हाँस्यव्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन्।

१० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताइएको छ। बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताललगायतका पर्यटकीय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना छ।

२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन्। महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह–प्रायोक छन्।