लेखनाथ महोत्सव: २ दिनमा ४० हजारले गरे अवलोकन, १ करोड २० लाखको कारोबार

जनसम्मत
पौष ८, २०७९, शुक्रबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा हिँजो (बिहीबार) बाट सुरु १८ औं लेखनाथ महोत्सव जारी छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ।

महोत्सव उद्घाटनको दिन हिँजो (बिहीबार) ३० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने करिब ८० लाख बराबरको कारोबार भएको छ।

त्यस्तै, महोत्सवको दोस्रो दिन आज (शुक्रबार) १० हजार दर्शकले अवलोकन गरे। महोत्सवमा ४० लाख बराबरको कारोबार भएको छ।

कूल ३३७ स्टलहरु रहेको महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो छ। आज दोस्रो दिन दर्शकको उपस्थिति कम भएपनि कारोबार राम्रो भएको जनाइएको छ। भोलि (शनिबार) को दिन बिदा परेकाले पनि महोत्सवमा दर्शकको राम्रो उपस्थिति रहने अपेक्षा गरिएको छ। भोलि महोत्सवमा लोकदोहोरी कार्यक्रमतर्फ गायक पशुपति शर्मा, जीवन दाहाल, रेशम निर्दोषी, परशुराम अधिकारी, गायिकहरु सुमन थापा, तुलसा जिसी, रमा रानाको प्रस्तुति रहनेछ।

त्यस्तै, हाँस्यव्यंग्यतर्फ युवराज भण्डारी, राजेन्द्र नेपालीको आर्कषक प्रस्तुति रहनेछ। भोलि हुने साँझको लाइभ कन्सर्टतर्फ हिमाल सागर, आशिष सचिनको दमदार प्रस्तुति रहनेछ। युवाहरुका लागि राखिएको लाइभ कन्सर्ट कार्यक्रम प्रत्येक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म संचालन हुनेछ। यसबाहेक महोत्सवमा अन्य विद्यालयस्तरिय कार्यक्रमहरु, जातजाति, भाषाभाषीका कार्यक्रमहरु, भजनकीर्तन पनि समावेश छन्।

साँस्कृतिक कार्यक्रमतर्फ आज लोकदोहोरीमा गायक रामजी खाँण, मधु रसाईलीलगायतको प्रस्तुति थियो भने साँझको लाइभ कन्सर्टतर्फ सनिमा श्रेष्ठ, सन्तोष बस्याल र टुकीको प्रस्तुति रहेको छ। ग्रामीण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने महोत्सवको प्रमुख उद्देश्य हो।

महोत्सवमा कुल ३३७ स्टलहरु छन्। जसमा यहाँका पर्यटकीय स्थलको पहिचान गराउने छुट्टै खालको बेगनासतालको डेमो तयार गरि राखिएको छ। जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ। यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवद्र्धननसम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाँडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन्।

त्यस्तै, महोत्सवमा विद्यार्थीका लागि इञ्जीनियरिङसम्बन्धी प्रदर्शनी पनि रहेको छ। आफ्नो सेवा तथा वस्तु प्रमोशनका लागि विभिन्न प्रतिष्ठानका पनि स्टलहरु छन्। सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सह–प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन्।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ।