बीपी मार्ग क्षेत्र विकास समितिद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान

जनसम्मत
पौष ९, २०७९, शनिबार

पोखरा महानगरपालिका–१४ स्थित बीपी मार्ग क्षेत्र विकास समितिद्वारा नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुलाई सम्मान गरेको छ।

समितिले कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा सो क्षेत्रका प्रदेशसभा सदस्य र समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई बधाईसहित दोसल्ला ओढाएर सम्मान गरेको हो।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित मनबहादुर गुरुङ, स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शिव नेपाली, कास्की– १ कै प्रदेशसभा सदस्यमा निर्वाचित वेदबहादुर गुरुङ ‘श्याम’, नेपाली काँग्रेसबाट समानुपातिकमा निर्वाचित सरस्वती गुरुङ, र नेकपा एमालेबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित नन्दकला परियारलाई समितिले सम्मान गरेको हो।

समितिका अध्यक्ष बलराम लामा, उपाध्यक्ष उपेन्द्र न्यौपाने, सचिव युवराज बस्नेतलगायत समितिका सदस्य एवं सल्लाहकार पूर्ण लामा ह्योल्मोले उनीहरुलाई सम्मान गरेको हो।

सो अवसरमा पोखरा–१४ का वडाध्यक्ष बोधराज कार्की र वडासदस्य कृष्णप्रसाद तिमिल्सिनासमेतलाई समितिले सम्मान गर्‍यो।

समितिका अध्यक्ष बलराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उपेन्द्र न्यौपानेले स्वागत तथा बधाई र सचिव युवराज बस्नेतले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा समितिले नवनिर्वाचित सांसदहरुसमक्ष सो क्षेत्रमा स्मार्ट सिटी बसपार्क निर्माणका लागि माग गरेको छ। हाल, पोखरा महानगरपालिकाबाट ६ बिसे कुलो बसपार्क निर्माणका लागि रातो कितावमा १ करोड रुपैयाँ विनियोजन गरेको समितिका अध्यक्ष लामाले जानकारी दिए।