‘क्रिसमस डे’, क्रिश्चियन धर्मालम्बीले धुमधामसँग ‘इभ’ मनाउँदै

उज्यालो बत्ती, उपहार र उल्लासका साथ मनाइने यो चाडका अवसरमा नेपालमा सार्वजनिक बिदा दिइएको छ

जनसम्मत
पौष १०, २०७९, आइतबार

आज अंग्रेजी क्यालेन्डर डिसेम्बर महिनाको २५ तारिक अर्थात ‘क्रिसमस डे’।

क्रिश्चियन धर्मालम्बीले आज धुमधामसँग ‘क्रिसमस डे’ को ‘इभ’ मनाउँदैछन्।

उज्यालो बत्ती, उपहार र उल्लासका साथ मनाइने यो चाडका अवसरमा नेपालमा सार्वजनिक बिदा दिइएको छ।

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन्।

२००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

‘क्रिसमस डे’का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ। आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ। ‘क्रिसमस डे’मा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदान–प्रदान गरिन्छ।

यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई ३ वटै दिवसका रूपमा मनाउने गर्दछन्।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिन्छ।

विश्वका धेरै मानिसले मनाउने ֲक्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको हो।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ। १३ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ। महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहनेछन् ।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा ‘क्रिसमस ट्री’ सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको हुन्छ। पर्यटकीय क्षेत्र पोखरालगायत ठमेल, बौद्ध, सौराहालगायतका स्थलहरुमा क्रिसमसको रमझम बढी देखिन्छ।