महजोडी ‘टुर दी पोखरा’ को साइकल र्‍यालीमा सहभागी

सोलो साइकल प्रतियोगितामा अमेरिकी इलाइजा प्रथम

जनसम्मत
पौष ९, २०७९, शनिबार

यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तर्गत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्‍याली गरिएको छ।

पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्‍यालीमा पोखरासहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुरलगायतबाट सहभागी भएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजूले बताए।

पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्‍याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुँडिखेल, हरिचोक मिरुवा, भद्रकाली स्कुल, वडा कार्यालय १३, कुडंर ३२ कि.मी. अमरसिंहचोक कालिकाचोक, गौँडामुख, बुद्धचोक, पृथ्बीचोक हुदै प्रर्दशनी केन्द्रमा पुगेर समापन भएको हो।

इलाइजालाई सोलो साइकलको उपाधि

उक्त र्‍याली पश्चात पोखरामा भएको सोलो साइकल रेसमा अमेरीकाका इलाइजा प्रथम भए। उनले सहभागी १९ जनालाई पछि पार्दै अन्य भन्दा ढिलो (सोलो) साइकल चलाएर प्रथम भएका हुन्। सो प्रतियोगितामा सुजन अधिकारी दोश्रो र सिजनराज महत तेश्रो भए। प्रतियोगितामा २० जना सहभागी थिए।

‘साइकल सिटी’ पोखरा: मेयर आचार्य

उक्त कार्यक्रमको शुभारम्भ गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरामा साइकल सिटीको रुपमा विकास गर्न खोजेको बताए। उनले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगेको अबस्थामा साइकलको प्रयोगले पोखराको वातावरण संरक्षण गर्ने अभियानमा सहयोग पुग्ने बताए।

त्यसैगरी, कार्यक्रममा महजोडी हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले यस्तो कार्यक्रमले पोखराको खेल पर्यटनको प्रर्बद्धन हुनेमा जोड दिए।

नेपाल आयल निगमका प्रमुख इञ्जिनीयर उमेश थामीले इन्धन बचत गर्ने उद्देश्यले आयोजित उक्त र्‍यालीले इन्धन कम खपत गर्न प्रोत्साहन गरेको बताए।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विदेशबाट आयात हुने अत्यावश्यक इन्धनको सकेसम्म कम खपत गर्न सुझाव दिए। पोखरामा यस्ता खेल गतिविधिले खेल पर्यटनको विकास गर्न मद्दत पुग्ने पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, पोखरा ५ का वडा अध्यक्ष बिष्णु बराललगायतको सहभागिता थियो।

शनिबार नै पोखरामा भएको खुल्ला रक्तदान कार्यक्रमबाट ३० यूनिट रंक्त संकलन भएको साइकल सिटि पोखराका अध्यक्ष अभिषेक कोइरालाले बताए।