लेखनाथ महोत्सव: दर्शकको आकर्षण बढ्दो, एकैदिन १ करोडको कारोबार

जनसम्मत
पौष ९, २०७९, शनिबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ।

१८ औं संस्करणको लेखनाथ महोत्सव अवलोकन गर्न आम दर्शकहरुको भिड बढ्दो छ। पुस ७ गतेदेखि सुरु भएको महोत्सवको आज तेस्रो दिन (शनिबार) दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो।

शनिबार बिदाको दिन परेका कारण हिजो र अस्तिको तुलनामा आज महोत्सव कारोबार पनि राम्रो रह्यो। आज २५ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेकोमा १ करोड बढीको कारोबार भएको संयोजक राजेन्द्र ओझाले बताएका छन्।
पहिलो दिन करिब ८० लाख र दोस्रो दिन हिँजो (शुक्रबार) ४० लाख बराबरकाको कारोबार भएको थियो।

भोलि इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस डे का दिन सार्वजनिक बिदा परेकाले आज भन्दा दर्शकको उपस्थिति राम्रो हुने आयोजकको अनुमान छ।

महोत्सवको तेस्रो दिन आज एमाले नेता तथा पूर्व अर्थमन्त्री युवराज खतिवडालगायतका नेताहरुले अवलोकन गरेका छन्।

महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालयस्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कीर्तन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु जारी छन्।

आज भएको लोकदोहोरी कार्यक्रममा गायक पशुपति शर्मा, जीवन दाहाल, रेशम निर्दोषी, परशुराम अधिकारी, गायिकाहरु सुमन थापा, तुलसा जिसी, रमा रानाको प्रस्तुति थियो। त्यसैगरी, हाँस्यव्यंग्यतर्फ युवराज भण्डारी, राजेन्द्र नेपालीको दमदार र आर्कषक प्रस्तुति थियो।

त्यस्तै महोत्सवमा युवाहरुका लागि प्रत्येक दिन लाइभ कन्सर्ट समेत आयोजना गरिएको छ। कन्सर्ट प्रत्येक साँझ ६ बजेदेखि ८ बजेसम्म संचालन हुँदै आएको छ। आजको लाइभ कन्सर्टमा हिमाल सागर, आशिष सचिनले प्रस्तुति दिए।

भोलि (आइतबार) महोत्सवमा लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु कुलेन्द्र बिक, राजन कार्की, प्रेमराज अधिकारी, नारायण सुवाल गायिकाहरु आइशा गौतम, बन्धना पाण्डे, कमला गैह्रे, बिनु लामाको प्रस्तुति रहनेछ।

त्यस्तै हाँस्यव्यंग्यतर्फ बेगम नेपाली उर्फ ‘भटभटे’, मनराज श्रेष्ट उर्फ ‘भगवान’को बेजोड प्रस्तुति रहनेछ। लाइभ कन्सर्टतर्फ र्‍यापर दिमृती र संजिव सिंह रानाको प्रस्तुति रहनेछ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाडानाकमा जारी छ।

महोत्सवमा कुल ३३७ स्टलहरु छन्। ग्रामीण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनासतालको डेमो तयार गरिएको छ। जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवद्र्धनसम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन्।

त्यस्तै, महोत्सवमा विद्यार्थीका लागि इञ्जिनीयरिङसम्बन्धी प्रदर्शनीसमेत छ। आफ्नो सेवा तथा वस्तु प्रबद्र्धनका लागि पनि विभिन्न प्रतिष्ठानले स्टलहरु राखेका छन्।

ग्रामीण क्षेत्रमा लोप हुँदै गरेका अधिकांश वस्तुहरु महोत्सवमा राखिएका छन्। जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको हो।

सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघसंस्थाहरुको सहयोग छ। पुस १८ गतेसम्म महोत्सव चल्नेछ।