लेखनाथ महोत्सवले दर्शक तान्यो, १ करोड २० लाखको कारोबार

जनसम्मत
पौष १०, २०७९, आइतबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले दिन प्रतिदिन दर्शकहरुको मन लोभ्याएको छ।

यस १८ औं संस्करणको लेखनाथ महोत्सवमा दर्शकको उपस्थिति उल्लेखनीय रहँदै गएको छ। महोत्सवको चौथो दिन आज (आइतबार) ३० हजार बढी दर्शकहरुले अवलोकन गरे।

इसाई धर्मावलम्बीहरुको प्रमुख पर्व ‘क्रिसमस’को अवसरमा आज (आइतबार) सरकारले सार्वजनिक बिदा दिएको थियो।

जसका कारण आज दर्शकहरुको उपस्थिति उल्लेखनिय रह्यो। महोत्सवमा आज एकैदिन १ करोड २० लाखको कारबोर भएको महोत्सव प्रचार–प्रसार समिति संयोजक राजेन्द्र ओझाले बताएका छन्।

महोत्सवको पहिलो दिन ३० हजार, दोस्रो दिन १० हजार, तेस्रो दिन २५ हजार र चौथो दिन आज ३० हजार गरि ४ दिनमा कुल ९५ हजार दर्शकले अवलोकन गरिसकेका छन् भने महोत्सवबाट हालसम्म कूल ३ करोड ४० लाखको कारोबार भएको छ। जसमा पुस ७ गते पहिलो दिन ८० लाख, दोस्रो दिन ४० लाख, तेस्रो दिन हिजो १ करोड र आज १ करोड २० लाख गरी कुल ३ करोड ४० लाखको कारोबार भएको संयोजक ओझाले जानकारी दिएका छन्।

महोत्सवको २ दिन हिँजो र आज सार्वजनिक बिदा परेकाले दर्शकहरुको उत्साहजनक सहभागिता देखियो। महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालयस्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कीर्तन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु जारी छन्।

आज भएको लोकदोहोरी कार्यक्रममा गायकहरु कुलेन्द्र बि.क., राजन कार्की, प्रेमराज अधिकारी, प्रजापति पराजुली, नारायण सुवाल गायिकाहरु आइशा गौतम, बन्धना पाण्डे, कमला गैर्‍हे, बिनु लामाको बेजोड प्रस्तुति रह्यो।

त्यसैगरी, हाँस्यव्यंग्यतर्फ बेगम नेपाली उर्फ ‘भटभटे’, मनराज श्रेष्ट उर्फ ‘भगवान’को आर्कषक प्रस्तुति रह्यो। त्यस्तै, लाइभ कन्सर्टतर्फ र्‍यापर दिमृती र संजिव सिंहरानाको प्रस्तुति रहनेछ।

भोलि (सोमबार) महोत्सवमा लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु तारापति सुवेदी, शंकर विरही गुरुङ, एक क्षेत्री गायिकाहरु पूर्णकला विसी, दिलु मगर, बसन्ती थापालगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।

त्यस्तै, महोत्सवमा युवाहरुका लागि प्रत्येक दिन लाइभ कन्सर्टसमेत राखिएको छ। कन्सर्ट प्रत्येक साँझ ६ बजेदेखि ८ बजेसम्म संचालन हुँदै आएको छ। भोलि (सोमबार) लाइभ कन्सर्टतर्फ मिलन नेवार, ओम गुरुङको आकर्षक प्रस्तुति रहनेछ।

आज (आइतबार) पोखरा उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ नवलपरासीका प्रतिनिधिहरुले महोत्सवको अवलोकन गरेका छन्। यसका साथै उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष अन्जन श्रेष्ठ, रुपा गाउँपालिकाका अध्यक्षलगायतको टोली समेतले महोत्सवको अवलोकन गरेको छ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाडा नाकमा जारी छ।

महोत्सवमा कुल ३३७ स्टलहरु छन्। ग्रामीण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउने छुट्टै बेगनास तालको डेमो तयार गरिएको छ। जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवद्र्धनसम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन्।

त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ। आफ्नो सेवा तथा वस्तु प्रवद्र्धनका लागि पनि विभिन्न प्रतिष्ठानले स्टलहरु राखेका छन्।

सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सह–प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंक छन्।

महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन्।

पुस ७ गतेदेखि सुरु महोत्सव १८ गतेसम्म चल्नेछ।