पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

जनसम्मत
पौष ७, २०७९, बिहीवार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ।

विमानस्थलमा आज (बिहीबार) यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २:१५ बजे पुरानो विमानस्थलबाट उडान गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २:२७ मा अवतरण भएको जानकारी गराएका छन्।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा संचालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ’, उनले भने।

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताए।

विमानस्थल आगामी पुस १७ देखि संचालनमा आउन लागेको छ।

विमानस्थलमा बुध्द एयरले पनि आज (बिहीबार) नै प्रदर्शन उडान गरेको छ।

एजेन्सी