खगराज अधिकारी, एमाले गण्डकी संसदीय दलको नेता

जनसम्मत
पौष १०, २०७९, आइतबार

नेकपा एमाले संगठन विभाग प्रमुुख खगराज अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा चुनिएका छन्।

नेकपा एमाले प्रदेशसभा सदस्यहरूको आज (आइतबार) बसेकोे बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

अधिकारी, कास्कीको निर्वाचन क्षेत्र नं १ को गण्डकी प्रदेशसभा (१) बाट निर्वाचित सदस्य हुन्।

संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन्।

पार्टी अध्यक्ष के.पी शर्मा ओलीका निकटस्थ मानिने अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी निर्वाचनमा पार्टीले टिकट दिएको थियो। यसैलाई व्यवस्थापन गर्न यसअघि प्रदेशको मुख्यमन्त्री बनिसकेका पृथ्वीसुब्बा गुरुङ प्रदेश छाडेर प्रतिनिधिसभा सदस्य पदमा लडेका हुन्।

पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पदमा अर्यालको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो।

केन्द्रीय राजनीतिमा एकाएक आएको परिवर्तनले अब एमाले र माओवादी मिलेर सरकार बनाउने संभावना छ।

एमाले र माओवादी मिलेर सरकार बनाउने संभावना बढेसँगै अधिकारीलाई मुख्यमन्त्री बन्नका लागि बाटो खुला भएको छ।

६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ। एमाले र माओवादी मिलेसँगै प्रदेशमा ३० सांसद भएका छन्।

राप्रपालाई नयाँ गठबन्धनमा तान्न सके प्रदेशमा सांसदको संख्या ३२ पुग्छ। जुन सरकार बनाउन आवश्यक संख्याभन्दा बढी हो।